पोखरा । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा कृषि विकास शाखा को ५० प्रतिशत लागत साझेदारी तथा पोखरा महानगरपालिका-८ को समन्वयमा वडा नम्बर ८ का ५० जना कृषकलाई असिना छेक्ने जाली वितरण गरिएको छ ।
वडा स्तरीय कृषि सञ्जालको आयोजनामा २०८२ चैत १५ गते वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा उक्त सामग्री वितरण गरिएको हो ।
“स्वस्थ जीवनका लागि अर्गानिक खानपान” भन्ने नाराका साथ आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रूद्रनाथ बरालले कृषकका समस्याप्रति महानगर र वडा कार्यालय सधैं संवेदनशील रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले कृषि उत्पादन वृद्धि गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले कृषिमा आत्मनिर्भरता हासिल गर्न महानगर सक्रिय रहेको र यस्ता सहयोगले स्थानीय कृषकलाई व्यावसायिक कृषितर्फ प्रेरित गर्ने बताउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका कृषि विकास महाशाखा प्रमुख मनोहर कडरियाले आधुनिक कृषि प्रविधिको प्रयोग र जलवायुजन्य जोखिम न्यूनीकरणका लागि महानगरले अनुदान तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको जानकारी दिनु भयो ।
उहाँले ४ मिटर लम्बाइ र ६ मिटर चौडाइको असिना छेक्ने जाली किसानका लागि उपयोगी सामग्रीका रूपमा प्रयोगमा आउन थालेको बताउनु भयो । विशेषगरी कौशी खेती तथा साना क्षेत्रफलमा उत्पादन गर्ने किसानहरूले आवश्यकता अनुसार यस जालीको प्रयोग गर्न सक्ने उहाँको भनाइ छ।
यस जालीको मुख्य फाइदा भनेको बालीको सुरक्षा हो। असिना तथा ठूला पानीका थोपा परेमा पनि यसले बाली, उत्पादन र गुणस्तरलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्छ। साथै, चराचुरुङ्गी र विभिन्न कीराहरूबाट बालीलाई जोगाउन पनि यसले सहयोग पुर्याउने पनि कडरियाले उल्लेख गर्नु भयो ।
दीर्घकालीन रूपमा प्रयोग गर्न सकिने यो जाली फाल्गुण, चैतदेखि जेठ महिनासम्म प्रयोग गरी बाँकी समयमा सुरक्षित राखेमा करिब ४ देखि ५ वर्षसम्म टिक्ने बताइएको छ।
असिनाका कारण हुने बाली क्षति न्यूनीकरणमा जाली उपयोगी हुने भन्दै सामग्री पाएपछि कृषकहरूले खुसी व्यक्त गरेका छन् ।
वडा स्तरीय कृषि सञ्जालकी अध्यक्ष साबित्रा अधिकारी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुलमाया पौडेलले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्यहरू तथा विभिन्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।