पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराका अनुसार सन् २०२५ मा गण्डकी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ७ सय जना पीडित भएका छन् ।
इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीका अनुसार अभिलेख गरिएका घटनामध्ये राज्य पक्षबाट दुई जना महिला सहित ५६ जना तथा अन्य पक्षबाट ५ सय २४ जना महिला सहित ६ सय ४४ जना गरी कुल ७ सय जना पीडित भएका हुन् ।
भण्डारीका अनुसार सन् २०२४ मा भने अन्य पक्षबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ४ सय २९ महिला र ७५ पुरुष गरी ५ सय ४ जना पीडित भएका थिए । उक्त वर्ष राज्य पक्षबाट मानव अधिकार उल्लङ्घनका घटना अभिलेख भएका थिएनन् ।
यस वर्ष राज्य पक्षबाट समेत ५६ जना पीडित थपिएसँगै कुल पीडितको सङ्ख्या गत वर्षको तुलनामा १ सय ९६ ले वृद्धि भएको इन्सेकले जनाएको छ ।
