मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

सिकाइ केन्द्रका पदाधिकारीलाई क्षमता अभिवृद्धि तालिम

पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घ अन्तर्गत सञ्चालित सामाजिक विकास केन्द्रको आयोजना तथा किडासाको आर्थिक सहयोगमा सामुदायिक सशक्तीकरण परियोजना अन्तर्गत “सिकाइ केन्द्रहरूको दिगोपनका लागि क्षमता अभिवृद्धि कार्यक्रम” सम्पन्न भएको छ ।

सङ्घको अमृत कक्षमा आयोजित कार्यक्रममा सिकाइ केन्द्र व्यवस्थापन समितिका पदाधिकारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले सङ्घ सधैं समुदायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँले सिकाइ केन्द्रहरूको दिगोपन सुनिश्चित गर्न आवश्यक योजना निर्माण, स्रोत परिचालन तथा नेतृत्व विकाससम्बन्धी ज्ञान र सीपमा कार्यक्रम केन्द्रित रहेको जानकारी दिनु भयो ।

साथै, यस कार्यक्रमले सहभागीहरूमा केन्द्र सञ्चालनप्रति जिम्मेवारीबोध र स्वामित्व भावना वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा किडासाका रमेश बास्तोलाले सिकाइ केन्द्रहरूको दिगोपनका लागि आवश्यक रणनीति तथा व्यवहारिक पक्षहरूबारे प्रस्तुति दिनुभएको थियो भने प्रशिक्षक प्रेम नारायण पोखरेलले सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रियात्मक सिकाइ विधि अपनाइएको कार्यक्रममा समूहगत छलफल तथा अभ्यासमार्फत सहभागीहरूबिच अनुभव आदानप्रदान गराइएको थियो, जसले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।

कार्यक्रमले समुदायस्तरमा सिकाइ केन्द्रहरूको निरन्तरता र गुणस्तर सुधारमा सकारात्मक योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

महासचिव शोभा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परियोजना निरीक्षक अञ्जना पौडेलले गर्नुभएको थियो ।

कार्यक्रममा नौ ओटा सिकाइ केन्द्रका ४४ जनाको सक्रिय सहभागिता रहेको सफल बरालले जानकारी दिनु भयो ।

Author

Related News