मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

महिला उद्यमीलाई भ्याट तथा करसम्बन्धी तालिम

पोखरा । महिला उद्यमी तथा व्यवसायीहरुलाई लक्षित गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) र करसम्बन्धी दुई दिने तालिम पोखरामा सम्पन्न भएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको आयोजना तथा जर्मन सहयोग संस्था जीआइजेडअन्तर्गतको दीगो विकासका लागि राजश्व सुधार परियोजना (आरएसआरएसडी) को सहयोगमा २०८२ चैत ६ र ७ गते उक्त तालिम सञ्चालन गरिएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले कर कानुनमा हरेक वर्ष परिवर्तन हुने भए पनि करका आधारभूत सिद्धान्त स्थिर रहने भएकाले यसको ज्ञान दीर्घकालीन रूपमा उपयोगी हुने बताउनु भयो ।

उहाँले कर कार्यालयबाट प्रदान गरिने छुट तथा सहुलियतबारे जानकारी राख्न व्यवसायीलाई आग्रह गर्दै महिलाहरू व्यवसाय तथा वित्त व्यवस्थापनमा सक्रिय हुँदा आर्थिक अनुशासन र पारदर्शिता बढ्ने धारणा राख्नु भयो ।

दुई दिनसम्म सञ्चालित तालिममा चार्टर्ड एकाउन्टेन्ट विवेक श्रेष्ठले सहजीकरण गर्नुभएको थियो ।

सङ्घकी महासचिव तथा कार्यक्रम संयोजक शोभा गौतमले महिला उद्योगी तथा व्यवसायीलाई लक्षित गर्दै विशेष रूपमा यो तालिम आयोजना गरिएको जानकारी दिनु भयो ।

समापन समारोहका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिवबहादुर कोइरालाले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै भ्याट तथा करसम्बन्धी ज्ञान व्यवसायी मात्र नभई सम्पूर्ण नागरिकका लागि आवश्यक रहेको बताउनु भयो ।

कर भुक्तानी प्रक्रियाबारे अज्ञानता वा लापरबाहीले कडा जरिबाना भोग्नुपर्ने अवस्था आउने उल्लेख गर्दै उहाँले सचेत रहन आग्रह गर्नु भयो ।

सहभागीको तर्फबाट स्वास्थ्यकर्मी जिता बरालले कमजोर शैक्षिक तथा आर्थिक पृष्ठभूमिका महिलालाई समेत यस्ता तालिमको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनु भयो । आफू व्यवसायमा संलग्न हुने तयारीमा रहेकाले तालिम उपयोगी भएको उहाँको भनाइ थियो ।

त्यसैगरी, जीआइजेडको राजश्व सुधार परियोजनाका वित्त व्यवस्थापन तथा प्रशासकीय सल्लाहकार नविन श्रेष्ठले करदाताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यस्तो तालिमले कर प्रणाली सुधार र राजश्व वृद्धिमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नु भयो ।

तालिममा ६५ जना महिला उद्यमी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो ।

Author

Related News