पोखरा । एल.पी. ग्याँस तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीमा आयोजित समन्वयात्मकमा सरोकारवाला उद्योग व्यवसायी एवम् उपभोक्ताबिच २०८२ फागुन ३० गते छलफल आयोजना गरिएको छ ।
बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले ग्यास तथा पेट्रोलियम पदार्थको वितरण प्रणालीलाई सहज बनाउने, अनावश्यक भण्डारण नगर्ने, खाद्यान्न लगायत अन्य बस्तुको मुल्य वृद्धि हुन नदिने, भाडामा बस्ने विद्यार्थी र ज्येष्ठ नागरिकलाई सहज आपूर्ति व्यवस्था मिलाउन व्यवसायीलाई आग्रह गर्नु भयो ।
उहाँले स्थानिय प्रशासन, नीजि क्षेत्रलाई निरुत्साहित गर्ने नीति नरहेको बताउदै सहकार्यका लागि आग्रह गर्नुभयो । बैठकमा बोल्दै ग्यास बिक्रेता महासङ्घका प्रतिनिधि एवम् शक्ति ग्यास उद्योगका कार्यकारी निर्देशक मेघराज पौडेलले कास्की जिल्लामा मात्र नभई यस गण्डकी प्रदेशका अन्य जिल्लामा पनि आपूर्ति व्यवस्था मिलाउनुपर्ने भएकाले व्यवसायीले सरकारको निर्देशन अनुरुप वितरण गरेको बताउनु भयो ।
उहाँले यस क्षेत्रबाट दैनिक ८ हजार सिलिण्डर ग्यास वितरण हुँदै आएकोमा २०८२ चैत १ गतेबाट लागु हुने गरी ७.१ केजी बराबरको आधा ग्यास वितरण हुने जानकारी दिनुभयो ।
त्यस्तै नेपाल एल.पी. ग्यास महासङ्घका उपाध्यक्ष एवम् गृहलक्ष्मी ग्यासका अध्यक्ष धर्मराज बस्यौलाले पोखरा पर्यटकीय क्षेत्र भएकाले पर्यटन उद्योगलाई प्रभाव नपर्ने गरी आमउपभोक्तालाई विद्युतीय चुलो प्रयोग गरी राष्ट्रिय पुँजी बचाउन सचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले कास्कीमा मात्र २ सय मेट्रिन बढी ग्यास भण्डारण रहेको बताउनु भयो । कास्की समेत गरी १५ भन्दा बढी कम्पनीले यस क्षेत्रमा ग्यास वितरण गर्दै आएको छ ।
कास्कीमा पेट्रोलियम पदार्थमा डिजेलको लागि झण्डै ४५ दिन र पेट्रोलको लागि १० दिनसम्मको भण्डारण रहेको आयल निगम गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख सतिशराज ओझाले जानकारी दिनु भयो ।
यस क्षेत्रमा ग्यास आपूर्तिमा कुनै समस्या नरहेको पनि उपभोक्ताहरुले अनावश्यक भण्डारण गरेको पाइएको छ ।
त्यसैगरी लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष बिक्रम कर्माचार्यले मध्यपूर्वमा जारी द्वन्द्वका कारण आपूर्ति शृङ्खलामा अवरोध हुन सक्ने चिन्ताबिच पेट्रोलियम पदार्थमा आएको सङ्कटले दुवानी प्रभावित भई अन्य सामाग्री समेतको मुल्य बढ्न गएकोले उपभोक्ता थप मारमा पर्ने बताउनु भयो । बैठकमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको अधिकारलाई मनन गर्दै ग्यास वितरणमा सहज गर्नुपर्ने बताउनु भयो ।
रेवान पोखराका महासचिव विरेन थकालीले आधी ग्यासको सिलिण्डरले होटल रेष्टुरेन्टको चुलोहरुमा प्रेसर नपुग्ने हुँदा सञ्चालनमा कठिनाई हुने बताउनु भयो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शनिबार साझ गरिएको अनुगमनमा पोखरा जरेबरमा एक व्यवसायीले ४८ ओटा सिलिण्डर लुकाइ राखेको पाइएकाले कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनु भयो ।
बैठकका निर्णयहरुः बैठकले जिल्लामा रहेका ग्याँस उद्योग तथा विक्रेताले आफूलाई प्राप्त भएको र वितरण गरिएको ग्याँसको दैनिक अभिलेख राखी प्रत्येक दिन जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।
साथै, ग्याँसको अनावश्यक सञ्चितीकरण नगर्ने तथा प्रमाणपत्र प्राप्त विक्रेताले मात्र विक्री वितरण गर्ने व्यवस्था कडाइका साथ लागू गरिने जनाइएको छ ।
ग्याँस उद्योग सञ्चालकहरूले उद्योगबाट वितरण गरिएको ग्याँस उचित रूपमा विक्रेताबाट बिक्री भएको छ वा छैन, अनावश्यक सञ्चिति तथा मूल्यवृद्धि भएको छ वा छैन भन्ने विषयमा अनुगमन गर्ने व्यवस्था पनि गरिएको छ ।
उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्स, उपभोक्ता मञ्च लगायत सरोकारवाला निकायले सूक्ष्म अनुगमन गरी त्यसको जानकारी जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयलाई गराउने निर्णय भएको छ ।
बैठकले नेपाल आयल निगमका निर्णयहरूलाई सबै ग्याँस उद्योगहरूले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, ग्याँस वितरण, मूल्य र तौलसम्बन्धी कुनै गुनासो वा समस्या भए जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन उपभोक्तालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
खुला रूपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने कार्यलाई पूर्ण रूपमा निषेध गरी कडाइका साथ कार्यान्वयन गरिने पनि बैठकले निर्णय गरेको छ ।
पोखराको लेकसाइडमा ग्याँस लुकाएर कृत्रिम अभाव खडा गर्ने डिलरलाई ५० हजार रुपियाँ जरिबाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । उपभोक्तालाई प्राथमिकता दिन र कृत्रिम अभाव सिर्जना नगर्न निर्देशन दिइएको छ।

