मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्की कारागारमा शतप्रतिशत मतदान

पोखरा । निर्वाचन आयोगले तोकेको अस्थायी मतदान केन्द्रअन्तर्गत कास्की कारागारमा यसपटक शतप्रतिशत मतदान भएको छ ।

कारागारभित्र नामावलीमा सूचीकृत सबै ३७ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

मतदान अधिकृत गोविन्द श्रेष्ठका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया करिब साढे दुई घण्टामै सम्पन्न भएको थियो । “नामावलीमा रहेका सबै कैदीबन्दीले शान्तिपूर्ण रूपमा मतदान गर्नु भयो ।”-उहाँले भन्नु भयो ।

कारागारभित्र प्रारम्भिक रूपमा ३८ जनाको नाम मतदाता नामावलीमा समावेश गरिएको भए पनि एक जना धरौटीमा छुटेकाले ३७ जनाले मात्र मतदान गरेका हुन् । तीमध्ये दुई जना महिला कैदीबन्दी रहेका थिए ।

त्यसैगरी, कारागारमा कार्यरत तीन जना कर्मचारीले समेत मतदान गरेपछि उक्त केन्द्रमा कुल ४० मत खसेको श्रेष्ठले बताउनु भयो ।

हाल कास्की कारागारमा ६ सय ९७ जना कैदीबन्दी रहे पनि निर्वाचन आयोगबाट प्रमाणित भई आधिकारिक नामावलीमा समावेश भएका व्यक्तिहरूले मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

प्रदेश निर्वाचन कार्यालयमा विवरण उपलब्ध गराई आधिकारिक सूचीमा नाम समावेश भएका कैदीबन्दीले मात्रै मत हाल्न पाएका हुन् ।

कारागारभित्रको मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन अधिकारीहरूले जनाएका छन् ।

Author

Related News