मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सृजना विकास केन्द्रको खुला रक्तदानमा ५६ युनिट रगत सङ्कलन

पोखरा । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारासहित सृजना विकास केन्द्र द्वारा आयोजित खुला रक्तदान कार्यक्रमबाट ५६ युनिट रगत सङ्कलन गरिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई मध्यनजर गर्दै पोखरा-८ सृजनाचोकमा फागुन २० गते कार्यक्रम सम्पन्न गरिएको हो ।

२०३७ असोज २५ गते स्थापना भई “सृजनाको परिकल्पना, समुन्नत समाजको स्थापना” भन्ने उद्देश्यका साथ क्रियाशील संस्थाले आयोजना गरेको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी अन्तर्गत प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो ।

कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का ले पहिलो रक्तदाता तथा संस्थाका सदस्य भिमप्रसाद पौडेललाई ब्लड ब्याग हस्तान्तरण गर्दै गर्नुभएको थियो ।

सभापति खड्काले निर्वाचनको सन्दर्भमा रक्तदान जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा गर्नु भयो ।

उहाँले १७ देखि ६५ वर्ष उमेर समूहका स्वस्थ व्यक्तिले प्रत्येक तीनतीन महिनामा नियमित रक्तदान गर्न सक्ने जानकारी दिँदै रक्तदानले कसैको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

साथै स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न आमनागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै मौन अवधि सुरु भइसकेकाले निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ अधिकारकर्मी विष्णुप्रसाद बराल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली, रेडक्रस सदस्य वविता सुवेदी, सृजना विकास केन्द्रका सल्लाहकार सभापति लिलाधर बराल, पूर्वअध्यक्ष राजु पौडेल तथा सृजना महिला सहकारीका अध्यक्ष शारदा गिरीलगायतले रक्तदानका फाइदा र आवश्यकताबारे धारणा राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष चन्द्र गरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा उद्देश्यबारे प्रकाश कार्यक्रम संयोजक राधिका सिग्देल थापाले पार्नुभएको थियो भने सञ्चालन सचिव उर्मिला भट्टराईले गर्नुभएको थियो ।

खुला रक्तदान कार्यक्रममा संस्थाका पदाधिकारी, प्राज्ञिक व्यक्तित्व, अधिकारकर्मी, नागरिक समाजका प्रतिनिधि, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News