मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

हिमालय आँखा अस्पताल ३४ वर्षमा प्रवेश, ४३ लाखलाई सेवा

पोखरा “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदार” नाराका साथ नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत सञ्चालित हिमालय आँखा अस्पताल, पोखरा-१७ ले आफ्नो ३३औँ वार्षिकोत्सव २०८२ फागुन १७ गते औपचारिक कार्यक्रमका बिच मनाउँदै ३४औँ वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सव समारोहमा बोल्दै नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय उपाध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्रीले अस्पताल स्थापना (२०४९ साल) देखि हालसम्म झन्डै ४३ लाख नागरिकलाई सेवा प्रदान गरिसकेको जानकारी दिनु भयो ।

उहाँका अनुसार गण्डकी र कर्णाली प्रदेशमा २७ ओटा उपचार केन्द्र र दुई ओटा सहायक अस्पतालमार्फत सेवा विस्तार गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अस्पतालको भौतिक पूर्वाधार विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यस संस्थालाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । पूर्वाधारमा सरकारी सहयोग बढे थप सेवा विस्तार गर्न सकिने उहाँले बताउनु भयो ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरका अनुसार ३९ कर्मचारीबाट सुरु भएको अस्पतालमा हाल १२५ जना दक्ष नेपाली जनशक्ति कार्यरत छन् ।

साथै, पोखरा–१७ का बासिन्दालाई सहयोग पुर्‍याउने उद्देश्यले उपचार दर्ता शुल्क निःशुल्क गर्ने घोषणा पनि गरिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. बबिता गुरुङका अनुसार सन् २०२५ मा मात्रै २ लाख ४७ हजार ५ सय ८५ जनाले सेवा लिएका छन् भने १५ हजार ८ सय ४१ जनाको शल्यक्रिया गरिएको छ।

कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष प्रा.डा. चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, पोखरा-१७ की वडाध्यक्ष राधिका कुमारी शाही योगी, आई केयर फाउन्डेसनका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीलगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सवका अवसरमा उत्कृष्ट कर्मचारीका रूपमा डा. अनिल पराजुली, अनुप सुवेदी, उमा सुनुवार र विकल श्रेष्ठ सम्मानित हुनु भयो । ‘जनरल ओपिडी भिजन एण्ड रिफ्र्याक्सन युनिट’ विभागलाई पनि सम्मान गरिएको थियो ।

लामो समयदेखि योगदान पुर्‍याउने कर्मचारीहरू-गोविन्दनाथ योगी, मन्जु आचार्य, गोविन्दराज बडु, विजय पौडेल, शशिकमला लामिछाने, तेजबहादुर गुरुङ, रीना गुरुङ, धर्मेन्द्रकुमार घोडासैनी, रुपसिंह बोहोरा, दीप गुरुङ, तस्बिरन मियाँ, दीपिका गुरुङ र दीपा शाहीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी आई केयर फाउन्डेसन, कादुरी एग्रिकल्चर एण्ड एसोसिएसन, व्यावसायिक महिला क्लब पोखरा, रोटरी क्लब अफ पोखरा फिस्टेल, मुटु फाउन्डेसन काठमाडौँ, युवा बौद्ध सङ्घ पोखरा, कर्मफ्लाइट्स फाउन्डेशन नेपाल र रिडले आई फाउन्डेसनलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्वागत मन्तव्य उपाध्यक्ष डा. नन्द श्रेष्ठले राखेका थिए भने सञ्चालन सदस्य डा. नारायण बरालले गरेका थिए ।

३३औँ वार्षिकोत्सवकै अवसरमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनको आयोजनामा “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने नारासहित खुला रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।

पोखरा–१७ घारीपाटनस्थित अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा ४३ युनिट रगत सङ्कलन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दिलबहादुर क्षेत्रीले पहिलो रक्तदाता तथा युनियन अध्यक्ष गोविन्दनाथ योगीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गर्नु भएको थियो ।

Author

Related News