मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

कास्कीमा निर्वाचन आचारसंहिताको पूर्ण पालना, लिखित उजुरी शून्य

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ आउन एक साता बाँकी रहँदा उच्च सुरक्षा अधिकारीहरूको टोलीले कास्की जिल्लाको स्थलगत अनुगमन गरेको छ ।

अनुगमनमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक  नारायणदत्त पौडेललगायत सहभागी हुनुहुन्थ्यो ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार टोलीले जिल्ला सुरक्षा समितिका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत तथा प्रदेश सुरक्षा निकायका प्रतिनिधिहरूसँग छलफल गर्दै निष्पक्ष, भयरहित र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न गर्न निर्देशन दिएको छ ।

तीन निर्वाचन क्षेत्र रहेको कास्की जिल्लामा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन भएको र उल्लङ्घनसम्बन्धी कुनै लिखित उजुरी नपरेको जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले जानकारी दिनु भयो ।

उहाँका अनुसार फागुन २१ गतेका लिग तिकएके निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट सकारात्मक सहयोग प्राप्त भइरहेको छ ।

यद्यपि शहरी तथा सडक क्षेत्रमा माइक चर्को बजाउने, पार्टीका गीत तथा जिङ्गलमार्फत ध्वनि प्रदूषण गर्ने विषयमा मौखिक उजुरी भने आएको उहाँले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार उम्मेदवारको प्रचारप्रसार गतिविधिबारे सुरक्षा निकायसहितको टोलीले शहरी क्षेत्र मात्र नभई दुर्गम तथा ग्रामीण क्षेत्रसम्म अनुगमन गरिरहेको छ ।

सामाजिक सञ्जालमा देखिएका केही सामग्रीबारे सम्बन्धित पक्षसँग सम्पर्क गर्दा स्वस्फूर्त रूपमा हटाइएको जानकारी दिइएको छ ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी का प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल ले निर्वाचन आयोगको परिपत्रअनुसार ४६ जनाले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोलेको र तीन जनाले अझै खाता नखोलेको जानकारी दिनु भयो ।

मतदान सामग्री सम्बन्धित जिल्लामा पुगिसकेको र वितरण प्रक्रिया बाँकी रहेको उहाँले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत शिव लम्साल ले सामाजिक सञ्जालमार्फत आचारसंहिता विपरीत गतिविधि गर्ने एक जनामाथि कारबाही गरिएको जानकारी दिनु भयो ।

उहाँका अनुसार चुनावी घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी भएको र केही प्रचारप्रसार आचारसंहिता विपरीत भएको मौखिक जानकारी आएपछि सचेत गराइएको र त्यसपछि यस्ता गतिविधिमा कमी आएको छ ।

सम्बन्धित निकायले अनुगमन र आवश्यक समन्वयलाई निरन्तरता दिएको जनाउँदै निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै पक्ष सचेत र जिम्मेवार देखिएको बताइएको छ ।

Author

Related News