मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निष्पक्ष र भयरहित निर्वाचन सबैको दायित्व: मुख्य निर्वाचन अधिकृत बेल्वासे

पोखरा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन-२०८२ लाई लक्षित गर्दै पत्रकारहरूका लागि गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा २०८२ फागुन १३ गते “निर्वाचन रिपोर्टिङ तथा पत्रकार आचारसंहिता” विषयक एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

उद्घाटन सत्रमा बोल्दै मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचन स्वतन्त्र मात्र नभई स्वच्छ, निष्पक्ष र विश्वसनीय हुन आवश्यक रहेको बताउनु भयो ।

निर्वाचनलाई स्वच्छ र भयरहित बनाउन मिडियाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले निर्वाचनमा कुनै एक निकाय मात्र होइन, सबै सरोकारवाला पक्षको उत्तिकै जिम्मेवारी रहने स्पष्ट पार्नु भयो ।

उहाँका अनुसार निर्वाचनमा संलग्न निकायहरू मात्र नभई मतदाताको पनि महत्वपूर्ण भूमिका हुन्छ । राजनीतिक दलका शीर्ष नेता, उम्मेदवार, सुरक्षा निकाय र पर्यवेक्षकहरूको भूमिका विश्वसनीय निर्वाचनका लागि निर्णायक हुने बताउनु भयो ।

प्रचारप्रसारको सन्दर्भमा सञ्चारमाध्यमको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले मतदाता शिक्षा, मतदानका लागि अभिप्रेरणा र निर्वाचन परिणामको छिटो तथा विश्वसनीय जानकारी सम्प्रेषणमा पत्रकारहरूको योगदान उल्लेखनीय हुने धारणा राख्नु भयो ।

डिजिटल प्लेटफर्मको विस्तारसँगै सत्य र विश्वसनीय सूचना आम नागरिकसम्म पुर्‍याउने जिम्मेवारी अझ बढेको उहाँको भनाइ थियो ।

महासङ्घकी अध्यक्ष निर्मला शर्माले निर्वाचन नजिकिँदै जाँदा पत्रकारमाथि धम्की र आक्रमणका घटना हुन सक्ने भएकाले सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।

मिसइन्फरमेसन, डिसइन्फरमेसन र डिपफेकका कारण मिडियाले उत्पादन गर्ने सामग्री प्रभावित हुँदै गएको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रमा चुनौती थपिएको बताउनु भयो ।

प्रदेश निर्वाचन कार्यालय गण्डकी का प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले गण्डकी प्रदेशका ११ जिल्लामा निर्वाचनका लागि आवश्यक ५२ प्रकारका मतदान सामग्री सम्बन्धित जिल्लामा पुगिसकेको जानकारी दिनु भयो ।

कार्यक्रममा महासङ्घकी अध्यक्ष निर्मला शर्मा र सचिव प्रकाश धौलाकोटीले सहजीकरण गर्नुभएको थियो ।

अभिमुखीकरणमा सहभागी पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका चुनौती, आचारसंहिता पालनाको आवश्यकता, जिम्मेवार र मर्यादित ढंगले रिपोर्टिङ गर्नुपर्ने विषयमा अनुभव आदानप्रदान गरेका थिए ।

सहभागीहरूलाई पाँच समूहमा विभाजन गरी पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताबारे छलफल गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले निर्वाचनका बेला उत्तेजित नभई तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न सुझाव दिँदै आचारसंहिता पालनाले सञ्चारकर्मीलाई थप सुरक्षित बनाउने बताउनु भयो ।

महासंघका अध्यक्ष निर्मला शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा उद्देश्यबारे जिल्ला अध्यक्ष माधवप्रसाद बरालले प्रकाश पार्नुभएको थियो भने प्रदेश महासचिव जमुना शर्माले सञ्चालन गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ४५ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

Author

Related News