मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

एआई र एल्गोरिदमबारे अन्तरसम्वाद सम्पन्न

पोखरा । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालय, पोखराको आयोजनामा प्रतिनिधिसभा निर्वाचन २०८२ को सन्दर्भमा “समाचारमा एआई/एल्गोरिदम” विषयक सम्पादकहरूबिच अन्तरसंवाद कार्यक्रम फागुन १३ गते सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि कास्कीका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले लोकतन्त्रको आधार निर्वाचन भएकाले यसलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।

सामाजिक सञ्जालका एल्गोरिदमले मतदाताको मनोविज्ञानमा पार्ने प्रभावप्रति सजग रहन आग्रह गर्दै उहाँले एआई र एल्गोरिदममार्फत वास्तविकताभन्दा फरक सामग्री प्रस्तुत गरिने जोखिम बढेको बताउनु भयो ।

उहाँका अनुसार एल्गोरिदमको प्रयोगले मतदातालाई दिग्भ्रमित पार्ने र उनीहरूको स्वतन्त्र अभिमतलाई प्रभावित गर्ने सम्भावना रहन्छ ।

त्यसैले मतदाताको स्वतन्त्र निर्णय अधिकार सुनिश्चित गर्न सञ्चारमाध्यमले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार किरण नेपालले निर्वाचन अवधिमा मिथ्या सूचना, फेक न्युज र डिपफेक जस्ता चुनौतीबारे प्रस्तुति दिनुभएको थियो ।

त्यस्तै आईटी एनालिस्ट इन्जिनियर मिलन श्रेष्ठले निर्वाचनसम्बन्धी समाचारमा एआई र एल्गोरिदमको प्रभावबारे सहजीकरण गर्नुभएको थियो ।

प्रेस रजिष्ट्रार बिमला भण्डारीले निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सम्पादकीय नेतृत्वलाई प्रविधिमैत्री र सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

उहाँले आगामी निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन गण्डकीका सञ्चारमाध्यमले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्साल, प्रेस काउन्सिल सदस्य केशवशरण लामिछाने लगायत सहभागीहरूले एआईको प्रयोग र नियमनका विषयमा आआफ्ना धारणा राख्नुभएको थियो ।

पत्रकारितामा प्रविधिको प्रयोग बढ्दै जाँदा विश्वसनीयताको सङ्कट पनि बढ्न सक्ने भएकाले सम्पादकहरू अझ सचेत र जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालिएको थियो ।

प्रेस रजिष्ट्रार बिमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रेस रजिष्ट्रार कार्यालयका उपसचिव निराजन शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा पोखरास्थित विभिन्न सञ्चारमाध्यममा आबद्ध सम्पादक तथा ब्यूरो प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News