मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अस्पतालका नवगठित व्यवस्थापन समितिसँग अन्तरक्रिया

पोखरा । स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश को आयोजनामा मन्त्रालय मातहतका दुई आयुर्वेद अस्पतालसहित कुल १६ वटै प्रदेश अस्पतालका नवगठित व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्य सचिव (मेडिकल सुपरिटेन्डेन्ट)हरूसँग २०८२ फागुन ११ गते पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक ले आफ्नो कर्तव्य र जिम्मेवारीप्रति सचेत रहन आग्रह गर्दै प्रदेश सरकारबाट जारी ऐन, नियम, निर्देशिका र कार्यविधिअनुसार तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न निर्देशन दिनु भयो ।

“अस्पतालको समग्र व्यवस्थापन, सेवा गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणका लागि समितिले सक्रिय नेतृत्व दिनुपर्छ ।”-उहाँले भन्नु भयो ।

नवगठित समितिका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्त्री पाठकले प्रदेशका अस्पतालहरूलाई नागरिकको भरोसायोग्य स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न सबै पक्षबिच समन्वय, सहकार्य र प्रतिबद्धता अपरिहार्य रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्त राज शर्मा, प्रदेश अस्पताल लमजुङका प्रमुख डा. शिशिर देवकोटा, मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. रमेशकुमार के.सी., प्रदेश अतिरिक्त सचिव खिम बहादुर खड्का तथा सचिव डा. युवानिधी बसौलाले सहजीकरण गर्नुभएको थियो ।

अन्तरक्रियाका क्रममा विभिन्न अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरूले आफ्ना अस्पतालका समसामयिक चुनौती, सेवा विस्तार, पूर्वाधार सुदृढीकरण, जनशक्ति व्यवस्थापन तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका विषयमा धारणा राखेका थिए ।

मन्त्रालयका सूचना अधिकारी प्रशान्त राज शर्माका अनुसार उक्त अन्तरक्रिया कार्यक्रमले अस्पताल व्यवस्थापन समितिहरूबिच अनुभव आदानप्रदान तथा समन्वय सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

Author

Related News