मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सञ्चारकर्मीका लागि साइबर सुरक्षा तालिम सुरु

पोखरा । नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा विभिन्न सञ्चार गृहमा आबद्ध सञ्चारकर्मीहरूका लागि साइबर सुरक्षा सम्बन्धी तीन दिने तालिम २०८२ फागुन १० गते सुरू भएको छ ।

गण्डकी प्रदेश प्रेस रजिष्ट्रार कार्यालयको आर्थिक सहयोग तथा क्यान महासङ्घ कास्कीको प्राविधिक सहकार्यमा महासङ्घको तालिम कक्षमा कार्यक्रम आयोजना गरिएको हो ।

तालिम उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले साइबर सुरक्षा अवसरसँगै चुनौती पनि बढ्दै गएको बताउनु भयो ।

उहाँले इन्टरनेटमार्फत हुने ह्याकिङ, डाटा चोरी, भाइरस आक्रमण तथा अनाधिकृत पहुँच जस्ता जोखिम डिजिटल युगका प्रमुख चुनौती बनेको उल्लेख गर्दै व्यक्ति र राज्य दुवैको सुरक्षाका लागि साइबर सचेतना अपरिहार्य रहेको धारणा राख्नु भयो ।

उहाँले तालिमले आमसञ्चार माध्यम मात्र नभई सर्वसाधारण नागरिक र राज्यका निकायलाई समेत साइबरजन्य अपराधबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

पारदर्शिता र जबाफदेहिताका लागि कानुन पालना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिँदै उहाँले पछिल्लो समय साइबर सुरक्षा तालिमको महत्व बढ्दै आएको बताउनु भयो ।

पहिलो दिनका सहजकर्ता गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्सका उपप्राध्यापक इन्जिनियर सन्तोष पन्तले “मुख्य साइबर सुरक्षा खतराहरू” विषयमा सहजीकरण गर्नु भयो ।

सामान्य सावधानी नअपनाउँदा धेरै व्यक्ति साइबर अपराधको सिकार हुने गरेको उल्लेख गर्दै डिजिटल जोखिमबाट बच्न पहिले आफैं सजग हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।

त्यसैगरी नविल बैंक प्रदेश कार्यालय पोखराका हरी ढकालले डिजिटल वित्तीय साक्षरता तथा डिजिटल ठगी रोकथामसम्बन्धी विषयमा प्रस्तुति दिनु भयो ।

उहाँले डिजिटल साक्षरता, वित्तीय साक्षरता, डिजिटल उत्पादनहरूको सुरक्षित प्रयोग र प्रविधिमार्फत वित्तीय सेवा सञ्चालनसम्बन्धी ज्ञानबारे जानकारी गराउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र क्यान गण्डकी प्रदेशका अध्यक्ष गुणानिधि पाण्डेले डिजिटल प्रविधिमार्फत हुने ठगी र सुरक्षा चुनौतीबाट जोगिन यस्ता तालिम प्रभावकारी हुने धारणा राख्नु भयो ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नु भएको थियो भने सहसचिव मधु अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

तालिममा विभिन्न सञ्चार गृहमा आबद्ध ६५ जना सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News