मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अर्घाखाँची-पोखरा सम्पर्क समाजद्वारा लुम्बिनीका मुख्यमन्त्री आचार्यको स्वागत

पोखरा । अर्घाखाँची–पोखरा सम्पर्क समाजले चेतनारायण आचार्यलाई एक कार्यक्रमका बिच २०८२ फागुन ८ गते पोखरामा स्वागत गरेको छ ।

कार्यक्रममा समाजका पदाधिकारी, सल्लाहकार, आजीवन सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

स्वागत कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले अर्घाखाँचीवासीहरूको एकता, सक्रियता र सङ्गठित प्रयासको प्रशंसा गर्दै प्रदेश र जिल्लाबिचको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लोकतान्त्रिक मूल्य-मान्यता, समावेशी सहभागिता तथा शान्ति, स्थिरता र विकासलाई सुदृढ गर्न सबै नागरिकको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्नु भयो ।

उहाँले लोकतान्त्रिक व्यवस्थामा प्रत्येक नागरिकको मताधिकार महत्वपूर्ण हुने बताउँदै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको साझा दायित्व भएको धारणा राख्नु भयो ।

यसका लागि राज्यका सबै तह, राजनीतिक दल तथा नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-९, अधेरीमा २०२५ साल जेठ २१ गते बुवा टीकाराम आचार्य र आमा तारादेवी आचार्यका माइलो छोराका रूपमा जन्मनुभएका आचार्य २०८१ साउन ७ गते लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।

कार्यक्रममा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकाका उपाध्यक्ष मनि पन्थीले पोखरामा अर्घाखाँची समाजको एकता देख्दा आफूलाई आफ्नै जिल्लामा भएको अनुभूति भएको बताउनु भयो ।

समाजका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्णप्रसाद पाण्डेले सम्पर्क समाज अभिभावकविहीन जस्तो अवस्थामा रहेको बेला मुख्यमन्त्री आचार्यको आगमनले अभिभावत्वको अनुभूति दिलाएको उल्लेख गर्नु भयो ।

निवर्तमान अध्यक्ष दधिराम खनालले अर्घाखाँचीबाट पोखरामा बसोबास गर्दै आएका नागरिकहरूबिच आपसी सहकार्य, सद्भाव र समन्वय अझ मजबुत हुँदै गएको बताउँदै जिल्लाबाट आएका विशिष्ट पाहुनालाई स्वागत गर्न पाउँदा समाज उत्साहित भएको प्रतिक्रिया दिनु भयो ।

समाजका अध्यक्ष रामप्रसाद पौडेलले मुख्यमन्त्रीको उपस्थितिलाई ऐतिहासिक क्षणका रूपमा चित्रित गर्दै आगामी दिनमा प्रदेश सरकार र सम्पर्क समाजबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गर्नु भयो ।

समाजका वरिष्ठ उपाध्यक्ष बाबुलाल पाण्डेले “अतिथि देवो भव”को भावनासहित मुख्यमन्त्री आचार्य तथा विशिष्ट अतिथिहरूलाई सम्मान प्रकट गर्नु भयो ।

उहाँले नेपाली संस्कार र संस्कृतिमा अतिथिलाई देवतासरह मान्ने परम्परा रहेको स्मरण गराउँदै सोही भावनाअनुसार स्वागत गरिएको बताउनु भयो ।

कार्यक्रम समाजका महासचिव कृष्ण रानाभाटले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा समाजका सल्लाहकार, पदाधिकारी, सदस्य तथा आजीवन सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News