मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

प्रजातन्त्र दिवसको अवसरमा कैदीबन्दीलाई फलफूल

पोखरा । ७६औँ राष्ट्रिय प्रजातन्त्र दिवस तथा दशौँ निर्वाचन दिवस-२०८२ को अवसरमा जिल्ला मूल समारोह समिति कास्की र प्रदेश निर्वाचन कार्यालय पोखराको संयुक्त आयोजनामा कास्की कारागारमा रहेका कैदीबन्दीहरूलाई फलफूल वितरण गरिएको छ ।

२०८२ फागुन ७ गते आयोजित कार्यक्रममा कारागारभित्र रहेका सबै कैदीबन्दीहरूलाई फलफूल वितरण गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव डण्डुराज घिमिरेले लोकतान्त्रिक शासन प्रणाली स्थापना भई नागरिक अधिकार सुनिश्चित भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रजातन्त्र दिवस उल्लासपूर्वक मनाइँदै आएको बताउनु भयो ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा यस वर्ष सिम्बोलिक रूपमा कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नु भयो ।

साथै, कैदीबन्दीहरूको पछिल्लो अवस्था बुझ्दै उनीहरूको मतदान अधिकार सुनिश्चित गरिएको जानकारी दिनु भयो ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले कारागारको भौतिक पूर्वाधार, सुरक्षा अवस्था, प्रशासनिक कार्य, कैदीबन्दीहरूको माग तथा गुनासो, र ‘जेन्जी’ आन्दोलनपछिको व्यवस्थापन अवस्थाबारे जानकारी लिँदै थप व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन गरिने बताउनु भयो ।

उहाँले कारागारमा खानेपानीको समस्या तथा भवन मर्मतसम्भारको आवश्यकता रहेको उल्लेख गर्नु भयो ।

प्रजिअ शर्माले लोकतान्त्रिक अभ्यास सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताउँदै दिगो शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न लोकतान्त्रिक आचरणलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नु भयो ।

कारागार प्रमुख राजेन्द्र शर्माका अनुसार हाल कास्की कारागारमा ६ सय ८३ जना कैदीबन्दी रहेका छन्, जसमा ६ सय ५२ पुरुष र ३१ महिला छन् ।

जेन्जी आन्दोलनका क्रममा भागेकामध्ये अझै १ सय ४३ जना फर्किन बाँकी रहेको उहाँले जानकारी दिनु भयो । आन्दोलनअघि कारागारमा ७ सय ७३ जना कैदीबन्दी रहेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नविन कार्की, सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल, प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, जिल्ला सुरक्षा समितिका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख, पत्रकार तथा कारागारका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

निर्वाचन दिवसको अवसरमा प्रदेश निर्वाचन कार्यालयले कारागारमा फलफूल वितरण गर्नुका साथै माटेपानी सामुदायिक केन्द्र र सामुदायिक केन्द्र बगरमा खुला रक्तदान कार्यक्रमसमेत आयोजना गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरा रहेको कास्की जिल्ला ११ जिल्लामध्ये सुगम जिल्लाका रूपमा चिनिन्छ ।

यद्यपि, (क) वर्गमा पर्ने कास्की कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा व्यवस्थापकीय चुनौतीहरू देखिएका छन् ।

महिला र पुरुषलाई छुट्टाछुट्टै ब्लकमा राखिएको र पारिवारिक भेटघाट कक्षसमेत अलग व्यवस्था गरिएको छ ।

राजनीतिक परिवर्तनहरू भए पनि कारागार सुधार र पूर्वाधार विकासका सवालमा अपेक्षित प्रगति हुन नसकेको स्थानीय सरोकारवालाहरूको गुनासो रहेको छ ।

कारागार सुधारका विषयमा बहस र पैरवी हुँदै आए पनि राजनीतिक इच्छाशक्तिको अभावमा अवस्था ज्यूँका त्यूँ रहेको बताइन्छ ।

Author

Related News