पोखरा । पोखरा-काठमाडौं रुटमा ईभी (विद्युतीय) लक्जरी बस सेवा सुरू गरिएको छ । विगतदेखि पोखराबाट काठमाडौं तथा पूर्वका धरान, विराटनगर र काकडभिट्टासम्म सुविधा सम्पन्न बस सेवा सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले अब पोखरा-काठमाडौं-बनेपा-धुलिखेल-पोखरा रुटमा ईभी लक्जरी बस सेवा सुरू गरेको हो ।
पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले एक समारोहबीच उक्त सेवाको शुभारम्भ गर्नु भयो ।
पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशबप्रसाद अधिकारीका अनुसार १ करोड ६८ लाख रुपियाँ लागतका दुई ओटा ईभी लक्जरी बसमार्फत सेवा सुरू गरिएको हो ।
बसमा ३६ सिट क्षमता रहेको छ भने जहाजसरह सुविधायुक्त सिट व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो ।
उहाँका अनुसार भाडा दर ९ सय रुपियाँ निर्धारण गरिएको छ । विद्यार्थी तथा सहुलियत भाडा खोज्ने यात्रुलाई लक्षित गरी सेवा विस्तार गरिएको पनि उहाँले बताउनु भयो ।
ईभी बस बिहान ९ बजे पोखराको पस्र्याङबाट छुटेर लेकसाइड हुँदै पर्यटन बसपार्कबाट साढे ९ बजे काठमाडौंका लागि प्रस्थान गर्नेछ ।
त्यस्तै, धुलिखेल-बनेपाबाट बिहान ७ बजे छुटेर कलङ्कीबाट बिहान ८ बजे सेवा उपलब्ध गराइने जनाइएको छ ।
विगत सात वर्षदेखि पोखरा–काठमाडौं तथा पोखरा–दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले २९ सिट क्षमताको बसमार्फत पोखरा-काठमाडौं रुटमा २ हजार ५ सय रुपियाँ भाडा लिँदै आएको छ ।
कम्पनीले मोडर्न ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा-दिल्ली लक्जरी बस सेवा सञ्चालन गर्दै आएको अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।