पोखरा । राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालय, पोखराको आयोजनामा राससको ६५ औँ वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान तथा ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रम २०८२ फागुन ६ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले लोकतन्त्रको मेरुदण्ड निर्वाचन भएको उल्लेख गर्दै स्वच्छ, शान्त, भयरहित र निष्पक्ष निर्वाचनका लागि सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले निर्वाचनको समयमा संवेदनशील भई यथार्थपरक र निष्पक्ष समाचार आमनागरिकसमक्ष पस्कन आग्रह गर्नु भयो । नकारात्मक पक्षभन्दा सकारात्मक र सबल पक्षमा जोड दिनुपर्ने उहाँको भनाइ थियो ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सूचना प्रवाहको विश्वसनीयता, तथ्यपरकता र संवेदनशीलता झन् महत्वपूर्ण बन्दै गएको उहाँले बताउनु भयो ।
निर्वाचनका क्रममा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने कर्मचारीहरूको सुरक्षामा विशेष ध्यान दिइने जानकारी पनि उहाँले दिनु भयो ।
प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब १५ दिन मात्र बाँकी रहेको उल्लेख गर्दै आवश्यक गृहकार्य तीव्र पारिएको बताउनु भयो ।
उहाँका अनुसार ५२ प्रकारका निर्वाचन सामग्रीमध्ये मतपत्र बाहेक अन्य सामग्री जिल्लामा आइपुगेको छ ।
जिल्लाका तीनओटै निर्वाचन क्षेत्रमा १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र कायम गरिएको छ भने ३ हजार ३ सयभन्दा बढी कर्मचारी परिचालन गरिनेछ ।
निर्वाचन आयोगले उम्मेदवारलाई बैङ्क खातामार्फत हिसाबकिताब राख्न अनिवार्य गरेपछि कास्की जिल्लामा प्रत्यक्षतर्फ ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवारमध्ये ४२ जनाले बैङ्क खाता खोल्न सिफारिस लिइसकेको जानकारी पनि उहाँले दिनु भयो ।
गण्डकी प्रदेश प्रेस रजिष्ट्रार विमला भण्डारीले प्रविधिको सही प्रयोग सञ्चारकर्मीको दायित्व भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचनाप्रति सचेत रहन आग्रह गर्नु भयो ।
कार्यक्रममा पत्रकार भरत कोइरालाले ‘आमनिर्वाचन र आचारसंहिता : के, किन र कसरी’ विषयमा सहजीकरण गर्नुभएको थियो ।
गण्डकी प्रदेशमा १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रूद्र न्यौपानेका अनुसार प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् ।
सबैभन्दा बढी कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता रहेका छन् भने सबैभन्दा कम मनाङमा ७ हजार मतदाता छन् ।
त्यस्तै स्याङ्जामा २ लाख ४८ हजार ८ सय १६, तनहुँमा २ लाख ५४ हजार ३सय ९७, नवलपरासी पूर्वमा २ लाख ६८ हजार ५ सय २६, गोरखामा २ लाख २९ हजार ५८, बागलुङमा १ लाख ९३ हजार १ सय ८१, लमजुङमा १ लाख ३७ हजार १ सय २४, पर्वतमा १ लाख २५ हजार ४ सय ६६, म्याग्दीमा ८६ हजार ३ सय ९७ र मुस्ताङमा ११ हजार ४ सय ३८ मतदाता रहेका छन् ।
प्रदेशका ११ ओटै जिल्लामा १ हजार २ सय ९७ मतदानस्थल र २ हजार ३ सय ९६ मतदान केन्द्र कायम गरिएको छ ।
कार्यक्रममा वरिष्ठ पत्रकार माधव शर्मा, नारायण कार्की, राससका पूर्व अध्यक्ष कोमलनाथ बराल, स्वतन्त्र पत्रकार सङ्घका अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पत्रकार महासङ्घ गण्डकी अध्यक्ष रमेश पौडेल, जिल्ला अध्यक्ष माधवप्रसाद बराल, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने तथा रेडियो नेपाल पोखराका प्रमुख शान्ति गुरुङलगायतले पेशागत आचरण पालना गर्दै निर्वाचन सफल बनाउन सबैले साझा दायित्व वहन गर्नुपर्नेमा जोड दिनु भयो ।
वरिष्ठ अधिकारकर्मी एवम् नागरिक समाजका अगुवा विष्णुप्रसाद बरालले राजनीतिक दलहरूले चुनावी घोषणापत्र जारी गरे पनि कार्यान्वयनमा कमजोरी देखिएको उल्लेख गर्दै मतदाताले घोषणापत्र अध्ययन गरेर मतदान गर्ने संस्कार विकास गर्न आवश्यक रहेको बताउनु भयो ।
रासस गण्डकी प्रदेश कार्यालयका प्रमुख वासुदेव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा राससबारे जानकारी कृष्ण दवाडीले दिनुभएको थियो भने सञ्चालन राससकर्मी राम थापाले गर्नुभएको थियो ।