पोखरा । जीवन विज्ञान पोखरा महानगर समितिको व्यवस्थापनमा पोखरा महानगरभित्र सञ्चालनमा रहेका १४ ओटा जीवन विज्ञान प्रयोगशालामा प्रशिक्षण लिइरहेका साधक तथा पोखराका प्रशिक्षक कल्याणमित्रहरूबीच परिचयात्मक भेटघाट तथा मित्रमिलन कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम मिति २०८२ फागुन २ गते पोखरा महानगरपालिका-२०, भलामस्थित तपोभूमि हरिहर गुफामा सम्पन्न भएको हो ।
जीवन विज्ञान गण्डकी प्रदेशका सहसंयोजक नारायण प्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जीवन विज्ञान पोखरा महानगरका २५ भन्दा बढी प्रशिक्षक कल्याणमित्रहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै सहसंयोजक पराजुलीले जीवन विज्ञान विगत १६ वर्षदेखि मानिसको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्धनका लागि सक्रिय रूपमा कार्यरत रहेको उल्लेख गर्दै गण्डकी प्रदेशमा पनि यसको विस्तार क्रमशः बढ्दै गएको बताउनु भयो ।
उहाँले मित्रमिलन कार्यक्रमले साधक तथा प्रशिक्षकहरूबिच आत्मीयता र समन्वय बढाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै पोखरामा सञ्चालन भइरहेका निःशुल्क प्रयोगशालामा अन्य इच्छुक व्यक्तिहरूलाई समेत जोड्न आग्रह गर्नु भयो ।
कार्यक्रमको सुरुवात जीवन विज्ञानकी प्रशिक्षक कल्पना सुबेदीले योग तथा ध्यान सत्र सञ्चालन गरी गर्नुभएको थियो ।
त्यसैगरी जीवन विज्ञान पोखराका संयोजक सन्दीप थापाले मानिसमा रहेका सात नकारात्मक पक्ष-आलस्यता, असन्तुष्टि, अव्यवस्थित जीवनशैली, अपेक्षा, अज्ञान, अस्थिरता र अहङ्कारलाई हटाउन दैनिक योग र ध्यान प्रभावकारी माध्यम रहेको बताउनु भयो ।
उहाँले विभिन्न प्रयोगशालामार्फत निःशुल्क रूपमा योग तथा ध्यान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिनु भयो ।
कार्यक्रमअन्तर्गत विभिन्न मनोरञ्जनात्मक खेलकुद गतिविधिहरू पनि सम्पन्न भएका थिए ।
बाल्टिमा बल हाल्ने पुरुषतर्फको खेल संयोजक रामप्रसाद सुबेदी र महिला तर्फ सुना पुरी रहनुभएको थियो ।
त्यस्तै म्युजिकल चियर महिला तर्फको संयोजक सारदा लम्साल तथा पुरुष तर्फ सन्दीप थापा रहनुभएको थियो। घैँटो फुटाउने कार्यक्रमको संयोजन कल्पना सुबेदीले गर्नुभएको थियो ।
उक्त खेलहरूमा क्रमशः रामकृष्ण भण्डारी, सृजना सिग्देल, एलिसा पौडेल र सोबिता बस्नेत कार्की विजयी भएका थिए ।
पोखरा महानगर समिति संयोजक सन्दीप थापाका अनुसार कार्यक्रममा कुल १ सय ६४ जनाको सहभागिता रहेको थियो ।