मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

नेतृत्व विकास तालिम सम्पन्न, ३० जना महिला लाभान्वित

पोखरा । दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजनामा मानवअधिकार, नेतृत्व विकास तथा जनवकालतसम्बन्धी तीनदिने तालिम पोखरा महानगरपालिका-२७, तालचोकमा २०८२ फागुन १ गते सम्पन्न भएको छ ।

“जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” भन्ने नारासहित सञ्चालन गरिएको तालिम २०८२ माघ २८ गतेदेखि सुरु भएको थियो ।

तालिमबाट रूपा गाउँपालिकाका दलित, सिमान्तकृत तथा फेडोमा आबद्ध स्थानीय समुदायका ३० जना महिलाहरू लाभान्वित भएका छन् ।

समापन सत्रमा बोल्दै फेडो केन्द्रीय कार्यालयका कार्यक्रम प्रबन्धक नरेश सोवले तालिम सीपमूलक तथा क्षमता अभिवृद्धिमार्फत महिलाहरूको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्यले आयोजना गरिएको बताउनु भयो ।

उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदाय स्तरमा सकारात्मक परिवर्तन ल्याउन आग्रह गर्नु भयो ।

उहाँका अनुसार तालिमले महिला सशक्तिकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । आत्मनिर्भरता, उद्यमशीलता, नवप्रवर्तन र सामाजिक उत्तरदायित्वको भावना विकास गराउनुका साथै नेतृत्व क्षमतामा अभिवृद्धि, जनवकालतका रणनीति तथा मानवअधिकार सुनिश्चितताका विविध पक्षबारे सहभागीहरूले ज्ञान र सीप हासिल गरेका छन् ।

रूपा गाउँपालिका कार्यपालिका सदस्य सरिता सुनारसहित सहभागीहरू शान्ता विक र गीता सुनारले तालिम उपयोगी र फलदायी भएको बताउँदै सिकेका कुरा समुदाय स्तरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उहाँहरूले समयसापेक्ष र व्यवहारिक तालिम कार्यक्रम निरन्तर सञ्चालन गर्न आयोजक संस्थासँग आग्रह समेत गर्नु भयो ।

समापन कार्यक्रमको अध्यक्षता फेडो कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संयोजक तनुजा परियारले गर्नुभएको थियो ।

आयोजक संस्थाले आगामी दिनमा पनि महिलाको हकहित केन्द्रित विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Author

Related News