मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सञ्चारकर्मीलाई निर्वाचन रिपोर्टिङसम्बन्धी तालिम

पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन-२०८२ लाई मध्यनजर गर्दै निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरू भएको छ ।

प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजनामा तालिम २०८२ माघ २८ र २९ गते महासङ्घको तालिम हलमा सञ्चालन भइरहेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै कास्की जिल्लाका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनलाई स्वच्छ, भयरहित र निष्पक्ष बनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । उहाँले सत्य, तथ्य र यथार्थपरक सूचना सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गर्नु भयो ।

मुख्य निर्वाचन अधिकृत बेल्बासेले सञ्चारकर्मी र आमसञ्चार माध्यम राज्यका अभिन्न अङ्ग भएकाले नागरिकलाई सही सूचना दिनु कर्तव्य भएको उल्लेख गर्नु भयो ।

समाचार प्रकाशन तथा प्रसारण गर्दा विश्वसनीयता पुष्टि गर्न र सबै पक्षलाई आचारसंहितामा बस्न आग्रह गर्नु भयो ।

उहाँले प्रतिनिधि सभा निर्वाचन-२०८२ सफल बनाउन मतदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबै पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै साझा धारणा निर्माण गर्नुपर्ने बताउनु भयो ।

तालिममा प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचनसम्बन्धी कानुन, प्रक्रिया, पत्रकार आचारसंहिता तथा समसामयिक विषयमा प्रशिक्षण दिनु भयो । पत्रकार भरत कोइरालाले डिजिटल युगमा राजनीति र निर्वाचन विषयमा प्रस्तुति राख्नु भयो ।

कास्की निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत दीपक गिरीले मतदानदेखि मतगणनासम्मको प्रक्रिया र कानुनी व्यवस्थाबारे सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले निर्वाचन सुरक्षासम्बन्धी संवेदनशील विषयमा प्रशिक्षण दिनेछन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने सचिव भूपाल गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

तालिममा विभिन्न आमसञ्चार माध्यममा आबद्ध ७५ जना सञ्चारकर्मीको सक्रिय सहभागिता रहेको छ ।

Author

Related News