पोखरा । “नि:शुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ” भन्ने नारा सहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल गण्डकी प्रदेश समन्वय समिति पोखराको आयोजनामा बदलिँदो परिवेशमा सार्वजनिक शिक्षा सुधारको लागि नागरिक समाजका सवाल र आगामी रणनीति बिषयक गण्डकी प्रदेश स्तरीय छलफल कार्यक्रम २०८२ माघ २६ गते पोखरामा सम्पन्न भयो ।
नेकपा एमाले कास्कीका कार्यवाहक अध्यक्ष भेषराज बरालले स्थानीय तह मातहत रहेको माध्यमिक तथा आधारभूत शिक्षालाई आगामी दिनमा प्राविधिक विद्यालयसहित एकीकृत योजनामा समावेश गरी गुणस्तरीय, सर्वसुलभ र जीवनोपयोगी शिक्षा आवश्यक रहेको बताउनु भयो ।
उहाले सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आम अभिभावकको विश्वास लिएर शिक्षाले गुणात्मक हालिस गर्ने बताउनु भयो ।
बरालले भौतिक संरचनाको स्तरोन्नतिसँगै पूर्वप्राथमिक शिक्षा लिने बालबालिकाको स्वास्थ्य, सुरक्षा र बसाइको उचित प्रबन्ध गर्ने, शैक्षिक सामग्रीको अभाव हुन नदिने, आइसिटीमा आधारित शिक्षामा जोड दिनु पर्ने धारणा राख्नु भयो ।
गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका उप-सचिव घनश्याम पौडेलले पछिल्लो समय शिक्षा सुधारका साथै युवा नीति निमार्णतहमा लागेको बताउनु भयो ।
उहाँले भन्नु भयो युवाहरूको मागलाई सम्बोधन गर्ने तथा उहाँहरूको अवसरलाई कानुनी रूपमा समावेश गरिने बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घ नेपालका निर्वतमान अध्यक्ष एवम् वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुबेदीले राजनीति स्थायित्व शिक्षा, स्वास्थ्य र आमनागरिकको सुधारको प्रमुख चुनौती रहेको बताउनु भयो ।
शिक्षाको समग्र गुरुयोजना बनाउँदा खोज तथा अनुसन्धानमा आधारित हुनु पर्ने उल्लेख गर्दै अभिभावकको चेतना अभिवृद्धि लागि प्राथमिकता दिनुपर्ने भनाइ राख्नु भयो ।
नीति बने पनि कार्यान्वयन पक्ष कमजोर हुनु, अनुगमन संयन्त्र फितलो हुनु प्रमुख चुनौती रहेको बताउनु भयो ।
प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका नायब सुब्बा शर्मिला रानाभाटले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा राजनीतिक दलहरूले आ-आफ्नो घोषणापत्र बनाउने प्रक्रियामा रहेकोले युवाको हक अधिकार सुनिश्चित गर्न युवा नीतिमा शिक्षा, विकास र सृजनशील उत्पादनका बिषयहरूलाई समेट्नु पर्ने सुझाव दिनु भयो ।
निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसहिंता लागु भइसकेको छ । आचारसहिंताको परिपालना र नियमनको अवस्था बारेमा निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरूले अनुगमन गरिरहेको बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल स्रोत र साधनको उपभोगमा आधारित नैतिक, व्यहारिक र प्राविधिक शिक्षाको विकासमा आमूल परिवर्तनका लागि महत्वपूर्ण विषय बनाउनु पर्नेमा जोड दिनु भयो ।
पत्रकार कमल पौडेल ‘अथक’ले देशको मूल नीति राजनीति भएको हुदाँ शिक्षाको गुणस्तर सुधारका लागि राजनीतिकदलहरू महत्त्वपूर्ण भएको हुदै शिक्षा अधिकारको अवस्था अत्यन्तै कमजोर रहेको बताउँदै राजनीति मुल अस्त्र भए पनि घोषणापत्र बनाउनका लागि बनाउने गरेको उल्लेख गर्दै यसलाई औपचारिकतामा सीमित नराख्न आग्रह गर्नु भयो ।
गैरसरकारी संस्था महासङ्घ नेपाल कास्कीकी अध्यक्ष एवम् एनसीई केन्द्रीय सदस्य इन्दिरा पौडेलले बालबालिकाका सवालमा राजनीति दल, सरोकारवाला पक्ष सचेत र संवेदनशील बन्नु पर्ने उल्लेख गर्दै निःशुल्क र गुणस्तरीय शिक्षाको अधिकार सुनिश्चित गर्न युवा नीतिमा शिक्षा, विकास, सुरक्षा, नेतृत्व विकास, खेलकुद र मनोरञ्जनका विषयलाई प्राथमिकतामा राखिनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेशका सह सचिव हरिप्रसाद बराल, राष्ट्रिय मानवअधिकार आयोग पोखराकी उपसचिव रेगम मर्हजन, चिल्ड्रेन नेपालका कार्यक्रम संयोजक शिव शर्मा चापागाईं, गण्डकी प्रदेश बाल परिषदका सह-सचिव अविशेष पौडेलले राजनीतिकदलहरूले आ-आफ्नो घोषणा पत्रमा समेटनु पर्ने सार्वजनिक शिक्षाका सवालहरू र निर्वाचनको समयमा विधालय साथै बालबालिकाहरूको प्रयोग नहुने वातावरण बनाउन राजनीतिक दल, संवैधानिक निकायहरू, सरकार तथा सबै प्रकारका सरोकारवालाहरूले खेल्नुपर्ने भुमिका विषयमा छलफल गरिएको थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई नेपाल)का कार्यक्रम व्यवस्थापक राम गैरेले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै सार्वजनिक शिक्षा सुधार किन र कसरी गर्न सकिन्छ भन्ने बिषयमा सहजीकरण गर्नु भएको थियो ।
तेस्रो अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि शिवराज शर्माको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
उपसंयोजक गोविन्दप्रसाद शर्मा, सचिवमा किसान सङ्गीत नेपाली,कोषाध्यक्षमा सङ्गीता केसी चयन हुनु भएको छ ।
त्यसैगरी सदस्यहरूमा सावित्री कार्की, ममिता पुन, दयाराज गौतम, देबी जिसी र खसाङ गुरुङ रहनु भएको भने दुई जना पछि कार्य समितिको बैठकबाट मनोनीत गरिने कास्की शाखाका सचिव रमेश सुवेदी जानकारी दिनु भयो ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यकालका लागि सांगठनिक कार्ययोजना समेत पारित गरेको छ ।
नवनिर्वाचित कार्यसमितिले गण्डकी प्रदेशमा सार्वजनिक शिक्षाको सुदृढीकरण, गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न र शैक्षिक अधिकारको वकालत गर्न प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपाल गण्डकी प्रदेशका संयोजक राजेन्द्र बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गोविन्दप्रसाद पौडेलले गर्नु भएको थियो ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, शिक्षक सङ्घ सङ्गठनका प्रमुख तथा प्रतिनिधि, कास्की, स्याङ्जा, गोरखा, पर्वत, म्याग्दी, बागलुङ र लमजुङ लगायत जिल्लाबाट एनसीई आबद्ध नागरिक समाजका अगुवा, विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।