पोखरा । नेकपा (एमाले) कास्की क्षेत्र नम्बर २ को आयोजनामा बृहत् कार्यकर्ता भेला २०८२ माघ २४ गते पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका उम्मेदवार रश्मि आचार्यले सृजनशील युवाहरूलाई उत्पादनसँग जोड्दै मर्यादित रोजगारी सिर्जना गर्ने अभियानलाई प्राथमिकतामा राख्ने बताउनु भयो ।
उहाँले घर–घरमा पुगेर जनताको आवश्यकता बुझ्दै योजनाबद्ध र दिगो विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
“जनताको कर जनताकै हितमा प्रयोग हुने गरी पारदर्शी र प्रभावकारी विकास कार्यक्रम सञ्चालन गर्नु मेरो प्राथमिकता हुनेछ ।”-आचार्यले भन्नु भयो ।

प्रभावकारी नीति निर्माण र कार्यान्वयनमार्फत युवा, महिला तथा पछाडि पारिएका वर्गको सशक्तीकरणमा आफू केन्द्रित रहने उहाँको भनाइ थियो ।
आचार्यले भावी कार्ययोजना निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा डिजिटल माध्यममार्फत समेत सुझाव संकलन गरिने जानकारी दिनु भयो ।
स्थानीय विकासदेखि राष्ट्रिय समृद्धिसम्मका मुद्दालाई प्रतिबद्धता पत्रमा समेट्ने उद्देश्य रहेको उहाँले उल्लेख गर्नु भयो ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश कमिटीका इन्चार्ज खगराज अधिकारीले राष्ट्र, राष्ट्रियता र देशको सुरक्षाका सवालमा एमालेको नेतृत्व अपरिहार्य रहेको बताउनु भयो ।
देश विकासका लागि स्पष्ट रणनीति र योजना एमालेसँग रहेको उल्लेख गर्दै उहाँले भ्रम र भ्रामक प्रचारको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।
एमालेका अग्रज नेता सोमनाथ अधिकारी ‘प्यासी’, केन्द्रीय सदस्य कृष्ण थापालगायत वक्ताहरूले आगामी निर्वाचन रणनीतिबारे आआफ्ना धारणा राख्नुभएको थियो ।
एमाले कास्की क्षेत्र नम्बर २ का संयोजक भेषराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसंयोजक बलराम आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव झपट रानाभाटले गर्नुभएको थियो ।