पोखरा । माले क्रान्तिकारी दलका संस्थापक कम्युनिष्ट नेता पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान कास्कीको १२ औँ साधारणसभा तथा पाँचौँ अधिवेशन २०८२ माघ २४ गते पोखरा महानगरपालिका–७ शहीदचोकमा सम्पन्न भएको छ ।
कम्युनिष्ट नेता सुवेदी पृथ्वीनारायण क्याम्पस पोखराका पहिलो निर्वाचित सभापति हुनुका साथै वि.सं. २०२० र २०३० को दशकमा गण्डकी तथा धौलागिरी क्षेत्रमा सक्रिय माले क्रान्तिकारी, समाजसेवी र शिक्षाप्रेमी व्यक्तित्वका रूपमा परिचित रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कम्युनिष्ट आन्दोलन, शिक्षा र समाजसेवामा सुवेदीको योगदानको स्मरण गर्दै प्रतिष्ठानलाई बलियो र सशक्त बनाउने कार्यमा गाउँपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका सदस्य अर्थशास्त्री दीपेन्द्रबहादुर क्षेत्री, लेखनाथ नगरपालिकाका पूर्व प्रमुख शालिकराम पौडेल, वाम बुद्धिजीवी झलकपाणी तिवारी, पृथ्वीनारायण क्याम्पसका पूर्व प्राध्यापक तथा प्रगतिवादी साहित्यकार परशुराम कोइराला, टेकनाथ बराल अध्ययन केन्द्रका अध्यक्ष विद्याविमल बराल, गैसस महासङ्घका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदी तथा प्रतिष्ठानका सल्लाहकार नारायण परिश्रमीलगायत वक्ताहरूले सुवेदीको योगदान र प्रतिष्ठानको भूमिकाबारे धारणा राख्नुभएको थियो ।
साधारणसभामा विगत कार्यक्रमहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे समेत छलफल गरिएको थियो ।

अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि ठाकुरप्रसाद सुवेदीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।
उपाध्यक्षमा ध्रुब सुवेदी, सचिवमा प्रदीप सुवेदी, सहसचिवमा सुर्य भण्डारी र कोषाध्यक्षमा इन्दु रेग्मी चयन हुनुभएको छ ।
सदस्यहरूमा मोहन सुवेदी, टिकाराम सुवेदी, भीमप्रसाद सुवेदी, लक्ष्मण गौतम हिमाली, शिवप्रसाद सापकोटा, तीर्थ पौडेल, कृष्ण विक, दिलबहादुर नेपाली, सुशीला गिरी, इन्द्रेणी चालिसे, पुण्यप्रसाद सापकोटा र बबिता सुवेदी रहनुभएको छ ।
कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्चका कलाकार काजी गाउँले, डीबी वान्तवा र स्ट्रगल रानाले अन्तर्राष्ट्रिय कम्युनिष्ट क्रान्तिकारी गीत तथा प्रगतिवादी गीतहरू प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पूर्ण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ध्रुबकल्पित सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रदीप सुवेदीले गर्नुभएको थियो ।