मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्वास्थ्यमन्त्री पाठकद्वारा शिक्षण अस्पतालको अनुगमन

पोखरा । गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले पोखरा महानगरपालिका-३० मा अवस्थित पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको २०८२ माघ२० गते स्थलगत निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।

अनुगमनका क्रममा मन्त्री पाठकले अस्पतालले सेवा विस्तार गर्दै लगेकोप्रति प्रशंसा व्यक्त गर्दै, यस संस्थालाई मेडिकल कलेजको रूपमा विकास गर्न सकिए गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि हुने बताउनु भयो ।

उहाँले विश्वविद्यालय र अस्पतालका पदाधिकारीहरूले उठाएका मागप्रति प्रदेश स्वास्थ्य मन्त्रालय सकारात्मक रहेको पनि स्पष्ट पार्नु भयो ।

हाल अस्पतालले पूर्ण क्षमतामा वार्ड सञ्चालन गरिरहेको छ भने बहिरङ्ग सेवा (ओपीडी) २०८१ जेठ महिनादेखि सञ्चालनमा आएको छ ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको स्तर उन्नतिका विषयमा निरन्तर आवाज उठ्दै आएकाले मन्त्री पाठकले निमित्त स्वास्थ्य सचिवसहित विश्वविद्यालयका पदाधिकारीहरू तथा सम्बन्धित पक्षसँग आवश्यक परामर्शसमेत गर्नुभएको थियो ।

निरीक्षणका क्रममा मन्त्री पाठक र निमित्त स्वास्थ्य सचिव रमेश केसीलाई अस्पतालका निर्देशक डा. सी.पी. आचार्य तथा पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन प्रा. डा. विष्णुराज तिवारीले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह र भावी विकास योजनाका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।

मन्त्री पाठकले शिक्षण, उपचार र अनुसन्धानलाई एकसाथ अघि बढाउने उद्देश्यले सञ्चालन भइरहेको यस अस्पतालले आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो ।

हाल अस्पतालमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूबाट उपचार सेवा प्रदान हुँदै आएको छ । अस्पताल प्रशासनका अनुसार विशेषज्ञ सेवाको दायरा क्रमिक रूपमा विस्तार भइरहेको छ ।

आगामी दिनमा नाक, कान, घाँटी (ईएनटी) तथा मनोरोग सम्बन्धी विशेषज्ञ चिकित्सकहरूबाट पनि सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।

पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले थप सेवा विस्तार गर्दै गण्डकी प्रदेशको स्वास्थ्य शिक्षाको मेरुदण्ड बन्ने लक्ष्य लिएको जनाएको छ ।

Author

Related News