पोखरा । जलवायु परिवर्तनको असर न्यूनीकरण र दिगो आर्थिक विकास प्रवर्धन गर्ने उद्देश्यले जलवायु उत्थानशील तथा हरित वित्तीय लगानी सम्बन्धी छलफल पोखरामा सम्पन्न भएको छ ।
२०८२ माघ २० गते पोखरा महानगरपालिका, एसियाली विकास बैङ्क (एडिबी) तथा निजी क्षेत्रका कृषि व्यवसायीहरूबीच उक्त छलफल आयोजना गरिएको हो ।
छलफलमा हरित तथा उत्थानशील वित्त लगानी कार्यक्रममार्फत कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको थियो ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले महानगरको कृषि रणनीति र पर्यटन विकासका प्राथमिकताबारे जानकारी गराउँदै उक्त कार्यक्रममा सहकार्य गर्न महानगर तयार रहेको बताउनु भयो ।
पोखरामा कृषि र पर्यटन विकासका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले विकास साझेदारहरूसँगको सहकार्यबाट यी क्षेत्रलाई अझ नतिजामुखी बनाउन सकिने बताउनु भयो ।
एसियाली विकास बैङ्कका कन्ट्री अपरेसन हेड आर्नो हेकम्यानले पोखराको आर्थिक वृद्धिका लागि निजी क्षेत्र, सहकारी तथा साना तथा मझौला उद्योगसँग मिलेर जलवायु जोखिम न्यूनीकरण र हरित रोजगारी सिर्जनामा एडिबी प्रतिबद्ध रहेको बताउनु भयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महानगर क्षेत्रमा प्रशस्त कृषियोग्य भूमि रहेको र उत्पादन, उपभोग तथा बजारीकरणका अवसरहरू भएकाले कृषि मूल्य श्रृङ्खलामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
जापान सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने यो कार्यक्रमले नेपालमा जलवायु परिवर्तनका चुनौती सामना गर्दै समावेशी आर्थिक वृद्धिलाई अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाइएको छ ।
कार्यक्रममा विशेषगरी कृषि व्यवसाय र पारिस्थितिक पर्यटनलाई प्राथमिकता दिँदै स्थानीय पूर्वाधार विकास र नवप्रवर्तनमा लगानी गरिनेछ ।
यस परियोजनाअन्तर्गत अनुदान, सहुलियतपूर्ण ऋण तथा निजी पुँजीको मिश्रणमार्फत स्थानीय आर्थिक क्षमतालाई सशक्त बनाउने योजना रहेको छ ।
नेपालको राष्ट्रिय अनुकूलन योजना र स्थानीय अनुकूलन कार्ययोजनासँग समन्वय गर्दै पोखराको कृषि रणनीति र विकास प्राथमिकतामा सहकार्य गरिने जनाइएको छ ।
यस किसिमको सहकार्यले पोखरालाई वातावरणमैत्री र आर्थिक रूपमा सबल सहर बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।