पोखरा । कास्की जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता कार्यान्वयनसम्बन्धी सर्वपक्षीय समन्वय बैठक सम्पन्न भएको छ ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा २०८२ माघ १६ गते पोखरामा सम्पन्न बैठकमा निर्वाचन आचारसंहिता कार्यान्वयन, शान्ति सुरक्षा, आपूर्ति व्यवस्थापन तथा निर्वाचन केन्द्रित राजनीतिक गतिविधिमा समन्वय कायम गर्ने विषयमा व्यापक छलफल गरिएको थियो ।
बैठकमा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन उम्मेदवार, मतदाता तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबै पक्षको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नु भयो ।
उहाँले निर्वाचन आचारसंहिता पालना गरी निर्वाचनलाई मर्यादित, अनुशासित, सुरक्षित र शान्तिपूर्ण बनाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट इमान्दारितापूर्वक सहयोग गर्नुपर्नेमा जोड दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भयरहित, सुरक्षित र मर्यादित निर्वाचन सम्पन्न गर्न सबै पक्षले अपनत्व लिनुपर्ने बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्नु भयो ।
उहाँले आचारसंहिता अनुगमन, नियमन तथा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी र अधिकारकर्मी सबैले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनु भयो ।
साथै निर्वाचन प्रचार–प्रसार तथा कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनलाई पूर्वसूचना दिएर मात्र कार्यक्रम गर्न राजनीतिक दलहरूलाई अनुरोध गर्नु भयो ।
निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक तथा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले निर्वाचन आचारसंहिता–२०८२ जारी भइसकेको जानकारी गराउँदै आचारसंहिता उल्लङ्घन भएमा कानुनअनुसार कारबाही हुने भएकाले सबै पक्ष सचेत र जवाफदेही हुन आग्रह गर्नु भयो ।
त्यसैगरी, प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका प्रदेश निर्वाचन अधिकारी नारायण ढकालले निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अघि बढिरहेको जानकारी गराउँदै आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना, जानकारी तथा उजुरी आयोगले तोकेका अनुगमनकर्ता वा आचारसंहिता अनुगमन समितिमा दिन आग्रह गर्नु भयो ।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति गण्डकीका संयोजक विष्णुप्रसाद बरालले जिल्लामा क्रियाशील राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, भातृ सङ्गठन तथा सङ्घसंस्थाहरूलाई निर्वाचन आचारसंहिताका प्रावधान अक्षरशः पालना गर्दै गतिविधि सञ्चालन गर्न आग्रह गर्नु भयो ।
उहाँले अनुगमन प्रक्रियालाई गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै अनुगमनबाट प्राप्त सुझाव र सिकाइलाई समेटी आगामी दिनमा अझ प्रभावकारी कार्यान्वयनतर्फ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।
सर्वपक्षीय समन्वय बैठकमा निर्वाचन अधिकृत, स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, निर्वाचनमा सहभागी राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ, गैरसरकारी संस्था महासङ्घ, नेपाल पत्रकार महासङ्घ, अधिकारकर्मी, नागरिक समाजलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।