पोखरा । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले ६१औँ रक्तसञ्चार सेवा स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरी रक्तसञ्चार सेवाको क्षेत्रमा निरन्तर योगदान पुर्याउने २५ जना अग्रणी रक्तदाता तथा २० वटा सामाजिक संस्थालाई मंगलबार (साउन १२) सम्मान गरेको छ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेले ८५औँ पटक रक्तदान गरेका रक्तदान अभियन्ता कृष्णबहादुर थापालाई ब्लड ब्याग हस्तान्तरण गर्दै गर्नुभएको थियो ।
उक्त अवसरमा मन्त्री पाण्डेले रेडक्रसको मानवीय अभियानमा प्रदेश सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।
उहाँले गण्डकी प्रदेशमा रेडक्रसमार्फत जोखिममा परेका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था प्रभावकारी रूपमा सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
“हामीले गरेका कामको पहिचान हुनुपर्छ । प्रदेशका नागरिकले स्वास्थ्य क्षेत्रमा भएका सकारात्मक कामबारे जानकारी पाउनुपर्छ ।”- मन्त्री पाण्डेले भन्नुभयो ।
२०५५ सालदेखि निरन्तर रक्तदान गर्दै आउनुभएका कृष्णबहादुर थापाले ८५औँ पटक रक्तदान गर्दै रक्तदान अभियानमा प्रेरणादायी उदाहरण प्रस्तुत गर्नुभएको छ ।
उहाँ विभिन्न रक्त सङ्कलन अभियान, सञ्चार तथा सामाजिक संस्थामा समेत सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेल, डोलराज पाण्डे, पूर्व उपसभापति धर्मराज अधिकारी, ब्रह्माकुमारी दिदी शोभा, सोभियतबहादुर अधिकारी, योगेन्द्र केसी तथा पोखरा महानगरपालिका-१७ की वडा अध्यक्ष राधिका कुमारी शाहीलगायतले रेडक्रसले मानव सेवामा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा स्वास्थ्य मन्त्री पाण्डेले रक्तदानमार्फत मानव सेवामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै पूर्व उपसभापति धर्मराज अधिकारीलाई विशेष स्वयम्सेवा सम्मान प्रदान गर्नुभयो ।
रक्तदान कार्यक्रम सञ्चालन तथा रक्त सङ्कलनमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न सङ्घसंस्थालाई पनि संस्थागत सम्मान प्रदान गरिएको छ ।
सम्मानित हुने संस्थामा लायन्स क्लब अफ शुक्लागण्डकी (तनहुँ), मदरल्याण्ड माध्यमिक विद्यालय, नेपाल रेडक्रस सोसाइटी पोखरा-१५ उपशाखा, लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी, जुरेसो रेन्बो एकेडेमी होम्स, ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय, गुरुङ गहना घर, राष्ट्रिय स्वतन्त्र पार्टी पोखरा, द आर्ट अफ लिभिङ, कालिका सेकेन्डरी स्कूल, राष्ट्रिय युवा सङ्घ नेपाल, नेपाल बीमा प्राधिकरण, बागलुङ समाज पोखरा, कदममार्ग टोल विकास संस्था, नेपाल एसबीआई बैङ्क, नेपाल विद्युत प्राधिकरण, लायन्स क्लब अफ मर्दी हिमाल तथा शान्तीदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिट लगायत रहेका छन्।
त्यसैगरी, सम्मानित हुने व्यक्तिहरूमा धर्मराज अधिकारी, दीपेन्द्र श्रेष्ठ, बलराम अधिकारी, सृजन ओम श्रेष्ठ, सञ्जय किशोर बास्तोला, दुर्गाप्रसाद गोरासैनी, प्रकाश पौडेल, रामप्रसाद खनाल, उपेन्द्र अधिकारी, नवराज घिमिरे, सोमेलाल श्रेष्ठ, दीपक गोदार, सुब्बा शाक्य, वीरेन्द्रबहादुर थापा, सुजित श्रेष्ठ, किशोर बराल, डाल्डा देवी भुजेल, यादवप्रसाद तिमिल्सिना, रमेशबहादुर कार्की, प्रेमबहादुर क्षेत्री, पुष्पा उदास, सन्तोष सुनार, विष्णुप्रसाद अधिकारी, कल्पना थापा र श्रीधर आचार्य रहनुभएको छ ।
पोखरा-१५ का वडा सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा आयोजना गर्नुभएको रक्तदान कार्यक्रमको विशेष योगदानको कदर गर्दै उहाँलाई पनि सम्मान गरिएको थियो ।
रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीका अनुसार पोखरामा ६ सयभन्दा बढी सङ्घसंस्थाको सहकार्यमा वार्षिक करिब ४० हजार युनिट रगत सङ्कलन हुँदै आएको छ ।
उक्त रगत गण्डकी प्रदेश सरकारको सहयोगमा प्रदेशभरका बिरामीलाई निःशुल्क उपलब्ध गराइँदै आएको उहाँले जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाकी सभापति उर्मिला खड्का भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रेडक्रसका मन्त्री सन्तोष अधिकारीले गर्नुभएको थियो ।