पोखरा । “रक्तदान जीवनदान, जीवनदान महादान” भन्ने मूल नारालाई आत्मसात गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगरपालिका वडा कमिटी-५ को आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा २०८२ चैत ७ गते पोखरा-५ मालेपाटनमा आयोजित उक्त कार्यक्रममा ४४ युनिट रगत सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा पोखरा महानगर कमिटी इन्चार्ज दिलिपविक्रम शाहीले ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटनका क्रममा उहाँले रक्तदान जस्तो मानवीय कार्यले जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्तो अभियानमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्नु भयो ।
उहाँले रगतको अभावका कारण समयमा उपचार पाउन नसकेका बिरामीका लागि यस्ता कार्यक्रम वरदान सावित हुने पनि बताउनु भयो ।

कार्यक्रममा प्रतिनिधिसभाका निर्वतमान सदस्य दामोदर पौडेल बैरागीले आफूले २०४० सालदेखि रक्तदान सुरु गरेको र हालसम्म ७३ पटक रक्तदान गरिसकेको जानकारी दिनु भयो ।
त्यस अवसरमा नेकपा एमाले कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, धनबहादुर नेपाली, अन्जु केसी, नेपाल रेडक्रस सोसाइटी जिल्ला उपसभापति रमा कोइराला, उज्वल खत्री, कल्पना भुवाजी, हरि सुनार, पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बराल, वडा सदस्य गोविन्द पराजुली तथा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्रा.डा. सरोज कोइरालालगायतले रक्तदानको महत्वबारे चर्चा गर्दै रक्तदाता प्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
नेपाल (एमाले) पोखरा-५ का अध्यक्ष लक्ष्मण बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव वसन्त गौतमले गर्नुभएको थियो ।
यसै कार्यक्रमको अवसरमा क्षयरोगका कारण निधन हुनुभएका पोखरा-५ निवासी मनोज सिकेको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
आर्थिक अवस्था कमजोर रहेको भन्दै उहाँको दाहसंस्कारका लागि पार्टी कमिटीको पहलमा १३ हजार रुपियाँ सहयोग प्रदान गरिएको हो । उहाँको निधन २०८२ फागुन २९ गते भएको हो ।
दिवङ्गत मनोजका दुई जना छोराछोरी रहेका छन् । दुवै जना हाल कोपिला नेपाल संस्थाको संरक्षणमा रहेका छन् ।