पोखरा । समाजमा व्याप्त जातीय तथा लैङ्गिक विभेद अन्त्य नगरी देश र समाजको समग्र विकास सम्भव नहुने यथार्थलाई उजागर गर्दै आयोजना गरिएको प्रस्तावना लेखन तालिमले स्थानीय स्तरमा क्षमता अभिवृद्धि र सशक्तीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
“जातीय तथा लैङ्गिक विभेद समग्र विकासको अवरोध” भन्ने नारासहित स्थापित सामाजिक संस्था दलित महिला सङ्घ (फेडो) कास्कीको आयोजना तथा पोखरा महानगरपालिका–८ को आर्थिक सहयोगमा एकदिने प्रस्तावना लेखन तालिम २०८३ असार ३ गते पोखरामा सम्पन्न भएको हो ।
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले दलित तथा सीमान्तकृत समुदायका महिलालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले व्यावसायिक प्रस्तावना लेखनसम्बन्धी ज्ञान, अभ्यास तथा रणनीतिक सीप विकासका लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष बरालले योजना निर्माण, स्थानीय तह तथा वडास्तरमा बजेट र योजना माग गर्न आवश्यक प्रस्तावना तयार गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै यस्ता तालिम समुदायका लागि लाभदायक हुने उहाँको भनाइ थियो ।
उहाँले आगामी दिनमा भौतिक पूर्वाधार विकाससँगै गरिब, महिला, दलित, आदिवासी जनजाति तथा पिछडिएका वर्गको उत्थानका लागि बजेट विनियोजन गर्न स्थानीय तहलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
वडा सदस्य लक्ष्मी विकले नीति तथा कार्यक्रम निर्माणका क्रममा मानवअधिकारका सवाललाई प्राथमिकतामा राख्न तालिम उपलब्धिमूलक हुने बताउनुभयो ।
कानुनले अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको उहाँले उल्लेख गर्नुभयो ।
तालिममा सहजकर्ता वविन नेपालीले अनुसन्धानका समस्या पहिचान र शीर्षक छनोट, कार्ययोजना तथा बजेट निर्माण प्रक्रिया, तथ्याङ्क सङ्कलन र विश्लेषणका विधि, प्रतिवेदन लेखनको ढाँचा तथा सरकारी मापदण्ड, साथै दाता तथा सरोकारवालालाई आकर्षित गर्ने प्रभावकारी प्रस्ताव लेखन कलाबारे प्रशिक्षण दिनुभएको थियो ।
दलित महिला सङ्घ (फेडो) कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तनुजा परियारले गर्नुभएको थियो ।
तालिममा कास्की जिल्लाका दलित तथा सीमान्तकृत समुदायका ३० जना महिलाको सहभागिता रहेको आयोजकले जनाएको छ ।