पोखरा । पोखरामा रोकिराखेको बोलेरो जिपमा स्कुटर पछाडिबाट ठोक्किँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका-५, जिरो किलोमिटर नजिक २०८३ कात्तिक २७ गते दिउँसो भएको दुर्घटनामा म्याग्दीका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
म्याग्दीको मङ्गला गाउँपालिका-९, दारुङका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका-३ का २६ वर्षीय मोहन परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार सृजनाचोकबाट लेकसाइडतर्फ जाँदै गरेको ग २३ प १७१६ नम्बरको स्कुटर सडकमा रोकिराखेको लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा पछाडिबाट ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका विवेकको टाउको र आँखामा चोट लागेको थियो । उहाँलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्याइएकोमा दिउँसो ३:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उहाँको शवलाई साँझ ५ बजे आफन्तले सनाखत गरेका थिए ।
त्यस्तै, टाउकोमा चोट लागेका मोहनलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो । अस्पतालमा परीक्षणका क्रममा दिउँसो ३:१० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । उहाँको शवलाई आमा रूपा परियारले सनाखत गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी निरीक्षक मुकुन्द सिग्देलको कमान्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले दुर्घटनामा संलग्न स्कुटर, बोलेरो जिप र जिप चालक पोखरा महानगरपालिका-२८, कालिकाका ४८ वर्षीय अमृत बजगाईंलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।