मानव आवाज

२०८३ कात्तिक २४ गते
00: 00: 00
२०८३ कात्तिक २४ गते

लोकसंस्कृति संरक्षणका लागि नेपाली प्रतिबद्ध हुनुपर्छ : अध्यक्ष सुवेदी

पोखरा । तिहारको अवसरमा होटल पौवा पोखराले देउसीभैलो तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । ‘बितायौँ बालापन’ भन्ने नारासहित होटल पौवा प्रालिले पोखरा-६, बैदामस्थित होटल परिसरमा २०८३ कात्तिक २३ गते देउसीभैलो साँझ-२०८३ कार्यक्रम सम्पन्न गरेको हो ।

नेपाली मौलिक कला, संस्कृति र परम्परा पछिल्लो समय हराउँदै जान थालेको सन्दर्भमा तिनको संरक्षण तथा नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको होटलले जनाएको छ ।

कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले तिहार पर्वले मौलिक देउसीभैलो र नेपाली लोकसंस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । लोकसंस्कृतिको संरक्षणका लागि सबै नेपाली प्रतिबद्ध हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

उहाँले नेपाली मौलिक लोकसंस्कृति तथा परम्परागत देउसीभैलोलाई संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो ।

पर्यटनको सहर पोखरामा आयोजना हुने यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक संस्कृतिको संरक्षणसँगै पोखराको पर्यटन प्रवर्धनमा समेत योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

होटल पौवा प्रालिका महाप्रबन्धक केशव भण्डारीले नेपाली मौलिक संस्कृति र परम्परा झल्काउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्दै ग्राहकहरूसँग सुखदुःख साटासाट गर्न तथा आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन होटलले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

महाप्रबन्धक भण्डारीका अनुसार तिहारलगत्तै आगामी पुस महिनामा चिसो मौसमलाई लक्षित गरी ‘चिसो मौसममा तातो अनुभव’ भन्ने नारासहित कफी कुपन वितरण गर्ने तथा आगन्तुकहरूलाई होटलमा आमन्त्रण गर्ने कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।

१० वर्षअघि रूपन्देहीबाट सेवा सुरु गरेको होटल पौवाले पोखरामा पाँच वर्षदेखि निरन्तर सेवा प्रदान गर्दै आएको छ ।

होटलमा ३९ ओटा सुपर डिलक्स कोठा, तीनवटा सेमिनार हल, विवाह तथा विभिन्न समारोहका लागि ठूलो ब्यान्क्वेट हल, दुई ओटा फराकिला बगैँचा र पर्याप्त क्षमताको पार्किङ सुविधा रहेको छ ।

देउसीभैलो साँझमा एसके डान्सका सञ्चालक राम लामासहितका कलाकारले विभिन्न नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए ।

नेपाली मौलिक खानपान र परम्परालाई निरन्तरता दिने उद्देश्यले चामलका सेलरोटी, फिनी, झिलिङ्गालगायत परम्परागत परिकारको प्रदर्शनीसमेत गरिएको थियो ।

कार्यक्रममा होटलका शुभचिन्तक, स्थानीयवासी, पर्यटन व्यवसायी, उद्योगी, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार