पोखरा । नेपाली आमा समूहहरूले सामाजिक, सांस्कृतिक, आर्थिक तथा सामुदायिक विकासमा पुर्याउँदै आएको योगदानबारे विदेशी महिलालाई जानकारी गराउने उद्देश्यले पोखरामा अनुभव तथा संस्कृतिको आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
महिला सञ्जाल पोखरा-६, कास्कीको आयोजना तथा अमेरिकी महिलाहरूको संस्था ओलिभिआको सहयोगमा आयोजित कार्यक्रम २०८३ कात्तिक २४ गते पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका-६, बैदाम क्षेत्रका आमा समूहहरूले समाजमा पुर्याउँदै आएको योगदान, महिला सशक्तीकरणका प्रयास, सामाजिक रूपान्तरण, सामुदायिक विकास, सरसफाइ, पर्यटन प्रवर्धन तथा सामाजिक विकृति र विसङ्गति न्यूनीकरणका लागि सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी गराइएको थियो ।
बैदाम क्षेत्रका १८ ओटा आमा समूहले महिलाहरूको सामूहिक सहभागिताबाट समाजमा ल्याउन सकिने सकारात्मक परिवर्तन, महिला नेतृत्व विकास, आर्थिक आत्मनिर्भरता, सीप विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा हासिल गरेका अनुभव र उपलब्धि प्रस्तुत गरेका थिए ।
महिला सञ्जालकी संयोजक बबिता मल्लले विदेशी महिलाहरूलाई नेपाली समाजमा आमा समूहको भूमिका, महिलाबीचको एकता र सहकार्य तथा सामुदायिक विकासमा महिलाहरूले खेल्दै आएको नेतृत्वदायी भूमिकाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा २१ जना विदेशी महिलाको सहभागिता रहेको थियो । कार्यक्रमले नेपाली महिला समूह र विदेशी महिलाबीच आपसी अनुभव, विचार तथा संस्कृतिको आदानप्रदानसँगै महिला सशक्तीकरण र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।