पोखरा । तिहार नजिकिएसँगै पोखरामा स्थानीय सयपत्री फूलको कारोबार बढेको छ । पोखरा रङ्गशालामा सञ्चालित पुष्प व्यापार मेलामा फूल खरिद गर्नेहरूको चहलपहल बढेको छ । मेलामा फूलको बिक्रीसँगै सयपत्री फूलको माला गास्ने प्रतियोगिता र उत्कृष्ट फूल स्टल सजावट प्रतियोगितासमेत आयोजना गरिएको छ ।
‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवर्धनमा गोदावरीको शान’ भन्ने नारासहित पोखरा महानगरपालिका-१० स्थित रङ्गशालामा नवौँ गोदावरी पुष्प प्रदर्शनी, पाँचौँ गण्डकी प्रादेशिक तथा तेस्रो सयपत्री फूल मेला सञ्चालन भइरहेको छ ।
यसै अवसरमा पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल खेती गर्ने कृषकलाई सम्मान गरिएको छ ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत कृषि विकास शाखाको आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत कार्यक्रमअनुसार आयोजित मेलामा २०८३ कात्तिक २२ गते उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो । कात्तिक १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मेलामा पोखरामा सबैभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल खेती गर्ने तीन जना कृषकलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले कृषकलाई सम्मान गर्नुभएको थियो । उहाँले यस्ता मेलाले स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै पुष्प व्यवसायको प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख गुरुङले महानगरपालिकाले स्थानीय फूलको उत्पादन तथा बजारीकरण प्रवर्धनमा निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । उहाँले प्लास्टिकका कृत्रिम फूलको प्रयोग, वितरण तथा बिक्री न्यूनीकरणका लागि अनुगमन र सचेतना अभियान सञ्चालन भइरहेको उल्लेख गर्दै यसबाट कृत्रिम फूलको प्रयोग घटाउन र स्थानीय फूलको उपभोग बढाउन सहयोग पुगेको बताउनुभयो ।
स्थानीय कृषकले उत्पादन गरेका सयपत्री फूलको प्रयोगले किसानको मेहनतको सम्मान हुनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत मजबुत बनाउने भएकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिन उहाँले उपभोक्तालाई आग्रह गर्नुभयो ।
महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार स्थानीयस्तरमा पुष्प खेतीलाई प्रोत्साहन गर्ने, कृषकको मेहनतको सम्मान गर्ने र फूल उत्पादनमा व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले उत्कृष्ट कृषकलाई सम्मान गरिएको हो ।
महानगरपालिकाले स्थानीय सयपत्री फूलको सहज बिक्रीवितरण तथा कृषकलाई बजार उपलब्ध गराउने उद्देश्यले महानगरभित्र १७ स्थानमा फूल बिक्री केन्द्र तोकेको छ । ती केन्द्रमा स्थानीय कृषकले उत्पादन गरेका फूल तथा माला बिक्रीवितरणको व्यवस्था मिलाइएको कडरियाले जानकारी दिनुभयो ।
तोकिएका बिक्री केन्द्रमा देवी पञ्ज्ञ ज्येष्ठ नागरिक मिलन केन्द्र, टुँडिखेल पुरानो वडा कार्यालय, सङ्गम चोक कृषि बजार चौतारी, नयाँ वडा कार्यालय परिसर, सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड, महेन्द्रपुल (फल्चा), पोखरा कोसेली घर पृथ्वीचोक, सिद्धार्थचोक (चौतारी), पोखरा रङ्गशाला, किसान बजार-१३, वडा कार्यालय परिसर-१४, किसान बजार-१५, ठुलीपोखरी किसान बजार-१६ र १९, किसान बजार विरौटा-१७, किसान बजार खुदी-३०, कोट देउराली बहुउद्देश्यीय कृषि सहकारी संस्था लिमिटेड (बेगनास ताल) -३१ तथा कृषि उपज थोक बजार तालचोक-२७ रहेका छन् ।

मेलामा सयपत्री फूल खेती गर्ने उत्कृष्ट कृषक, माला गाँस्ने प्रतियोगिता र फूल स्टल सजावट प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।
सयपत्री फूल खेतीतर्फ करिब १० रोपनी क्षेत्रफलमा व्यावसायिक खेती गर्दै आउनुभएका पोखरा-१३ का नरेन्द्रप्रसाद अधिकारी पहिलो हुनुभएको छ । उहाँले १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो । तीन रोपनी क्षेत्रफलमा फूल खेती गर्दै आउनुभएका पोखरा-२८ का सोवितबहादुर अधिकारी दोस्रो हुँदै ७ हजार रुपियाँ नगद र पोखरा-१४ की नन्दकली घर्ती मगर तेस्रो हुँदै ५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।
त्यसैगरी, माला गाँस्ने प्रतियोगितामा पोखरा-२६ का रमेशकुमार श्रेष्ठ पहिलो हुँदै ५ हजार रुपियाँ, पोखरा-२८ की लक्ष्मी खत्री दोस्रो हुँदै ३ हजार रुपियाँ र पोखरा-१८ की दिपा खड्का तेस्रो हुँदै २ हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।
फूल स्टल सजावट प्रतियोगितामा पोखर-२६ का रमेशकुमार श्रेष्ठ पहिलो हुँदै ३ हजार रुपियाँ, पोखरा-३३ का श्रीराम आचार्य दोस्रो हुँदै २ हजार रुपियाँ र पोखरा-२६ का कर्म जैसी तेस्रो हुँदै १ हजार रुपियाँ पुरस्कारबाट सम्मानित हुनुभयो ।
मेलामा प्रतिकेजी सयपत्री फूलको मूल्य ५ सय रुपियाँ र प्रतिमाला २ सय रुपियाँ निर्धारण गरिएको छ । विगतका वर्षको तुलनामा यस वर्ष फूलको मूल्य सस्तो रहेको आयोजकले जनाएको छ ।
प्रतिस्पर्धात्मक वातावरणमा सहभागीहरूले कलात्मक ढङ्गले माला तयार पारेका छन् । मेलामा विभिन्न प्रजातिका आकर्षक फूल तथा पुष्प सजावटका सामग्री बिक्रीका लागि राखिएका छन्। फूल खरिद गर्न आउने उपभोक्ताको उल्लेख्य उपस्थितिले मेलास्थलमा चहलपहल बढाएको छ ।
पुष्प व्यापार मेलाले स्थानीय कृषकलाई आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै पुष्प व्यवसायको प्रवर्धन, बजारीकरण र नयाँ प्रजातिका फूलप्रति उपभोक्ताको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।