पोखरा । कास्कीको पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीस्थित लिला आधारभूत विद्यालय परिसरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । २०८३ कात्तिक २२ गते भएको दुर्घटनामा ३० वर्षीय स्थानीय सुरेश लामिछानेको मृत्यु भएको हो ।
कास्की प्रहरीले लामिछाने सवार ग ९ प ६६४७ नम्बरको पल्सर मोटरसाइकल सडकबाट करिब पाँच मिटर तल खसेको जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा परेपछि लामिछाने भने करिब ३० मिटर तल निर्माणाधीन रिटेनिङ वालमा बजारिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक दीपकप्रसाद रिजालले जानकारी दिनुभयो ।
घुमाउरो तथा उकालो सडकमा रातिको समयमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
स्थानीय दिनेश बरालका अनुसार लिला आधारभूत विद्यालयको खेलमैदान निर्माण भइरहेको क्षेत्रनजिकै दुर्घटना भएको हो ।
मोटरसाइकल पल्टिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धान गर्दा लामिछाने सडकबाट थप तल निर्माणाधीन पर्खालमा ठोक्किएको हुन सक्ने देखिएको जनाएको छ ।
घटनाको प्रकृतिबारे थप अनुसन्धान आवश्यक देखिएकाले जिल्ला प्रहरी कार्यालय कास्कीले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । प्रहरी निरीक्षक रिजालले घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।
स्थानीयले दुर्घटनापछि तत्काल उद्धार हुन नसक्दा अत्यधिक रक्तस्रावका कारण लामिछानेको मृत्यु भएको हुन सक्ने आशङ्का गरेका छन् । घटनास्थलमा बिहानै ठूलो सङ्ख्यामा स्थानीयको भीड लागेको थियो ।