मानव आवाज

२०८३ कात्तिक २१ गते
00: 00: 00
२०८३ कात्तिक २१ गते

कारागारको सुरक्षा र व्यवस्थापन चुस्त-दुरुस्त राख्न प्रजिअ गुरुङको निर्देशन

पोखरा । गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय सहर पोखरास्थित कास्की जिल्ला कारागारको सुरक्षा व्यवस्था र व्यवस्थापन चुस्त-दुरुस्त राख्न प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले निर्देशन दिनुभएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुङसहितको टोलीले २०८३ कात्तिक २० गते जिल्ला कारागार कार्यालय कास्कीको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै कारागारको भौतिक अवस्था, कैदीबन्दीको जीवनयापन र व्यवस्थापन पक्षबारे जानकारी लिएको हो । सो क्रममा कैदीबन्दीसँग भेटघाट तथा छलफलसमेत गरिएको थियो ।

अनुगमनका क्रममा प्रजिअ गुरुङले कारागार परिसरको सरसफाइ, भौतिक संरचना तथा कैदीबन्दी बस्ने कक्षको अवस्था व्यवस्थित र चुस्त-दुरुस्त राख्न निर्देशन दिनुभयो ।

उहाँले कारागारको समग्र सुरक्षा अवस्था, प्रशासनिक कार्यसम्पादन तथा कैदीबन्दीका समस्या र गुनासोबारे जानकारी लिँदै आवश्यक सुधारका काम अघि बढाउन जोड दिनुभयो ।

त्यसैगरी, कारागारको सुरक्षा व्यवस्थालाई उच्च सतर्कताका साथ प्रभावकारी बनाउन सुरक्षा निकाय तथा कारागार प्रशासनलाई निर्देशन दिँदै कैदीबन्दीको स्वास्थ्य, खानपान र आधारभूत सुविधाको नियमित अनुगमन गर्न पनि आग्रह गरे ।

कारागार प्रमुख उपसचिव घनश्याम गौतमका अनुसार कारागारमा हाल ७ सय ५० जना कैदीबन्दी रहेका छन् । तीमध्ये ५३ महिला, तीन आश्रित बालक र ६ सय ९४ पुरुष छन् ।

महिलातर्फ २८ जना थुनुवा र २५ जना कैदी रहेका छन् भने पुरुषतर्फ २ सय ७७ जना थुनुवा र ४ सय १७ जना कैदी छन् ।

कास्की जिल्ला कारागार ‘क’ वर्गको कारागार हो । यसको क्षमता २० महिला र ४ सय पुरुष गरी कुल ४ सय २० जनाको भए पनि हाल क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी राखिएका छन् । यसले कारागारमा आवास तथा व्यवस्थापनको चुनौती रहेको देखाउँछ ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी रमेश घर्ती, कारागार प्रमुख घनश्याम गौतम, नायब सुब्बा विनोद अर्याल तथा कारागार सुरक्षा गार्ड प्रमुख एवम् प्रहरी नायब निरीक्षक यमप्रसाद गौतमलगायत सहभागी थिए ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार