मानव आवाज

२०८३ श्रावण १४ गते
00: 00: 00
२०८३ श्रावण १४ गते

रुद्रबहादुर खड्का : मानवअधिकारलाई जीवन बनाएका अभियानकर्मी

एक समय सिन्धुलीका गाउँहरूमा “मानवअधिकार” भन्ने शब्द नै अपरिचित थियो । अधिकारभन्दा कर्तव्यको मात्र चर्चा हुन्थ्यो । मानवअधिकार केके हुन् ?,  राज्यले दिएका अधिकार के हुन् ?, नागरिकको सम्मान भनेको के हो ?, भेदभाव किन अन्याय हो ?  भन्ने विषय धेरैका लागि नयाँ थियो । त्यही बेला एउटा युवक काँधमा रेडियो बोकेर गाउँगाउँ डुल्थ्यो । रेडियोबाट चर्चित मानवअधिकार शिक्षा रेडियो कार्यक्रम सुनाउनुहुन्थ्यो । त्यसपछि सरल भाषामा मानवअधिकारका कुरा बुझाउनुहुन्थ्यो । आफू सचेत भइ अरुलाई सचेतना जगाउने अभियान छेड्नुहुन्थ्यो । गाउँका चौतारी, पँधेरा, खेतका आली र विद्यालयका प्राङ्गण उहाँका कक्षा बन्ने गर्थे । जिल्लामा धेरैले पहिलो पटक उहाँकै मुखबाट “मानवअधिकार” सुने । मानवअधिकार सुनाउने व्यक्ति हुनुहुन्छ, रुद्रबहादुर खड्का

सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-९, भीमानमा २०२९ साल जेठ २५ गते जन्मनुभएका खड्काले २०५६ सालदेखि सुरु गरेको मानवअधिकार जागरण अभियान आज पनि उस्तै उत्साहका साथ निरन्तर छ । बिचमा देशमा धेरै परिवर्तन भए । जनआन्दोलन भए, शासन व्यवस्था फेरियो । नयाँ संविधान बन्यो । राजनीतिक नेतृत्व बदलियो । तर, उहाँको अभियान भने कमला नदीको अविरल बहावझैँ बगिरह्यो । कहिल्यै रोकिएन । निरन्तर छ ।

२०५६ सालमा रेडियोमार्फत सुरु भएको अभियान २०६२ सालदेखि जनआवाज पत्रिका हुँदै २०७० सालदेखि स्वाधीन खबर पत्रिकासम्म आइपुगेको छ । हिजो उहाँ काँधमा रेडियो बोकेर गाउँ पुग्नुहुन्थ्यो, आज हातमा पत्रिका बोकेर पुग्नुहुन्छ । माध्यम फेरिएको छ । उद्देश्य फेरिएको छैन । उहाँ अझै पनि गाउँगाउँ पुगेर मानवअधिकारका कुरा बताउनुहुन्छ । छलफल चलाउनुहुन्छ र चेतना जगाउनुहुन्छ । उहाँको जग भनेको मानव अधिकार शिक्षा क्लव हो । यसको पृष्ठभूमि मानवअधिकारको अग्रणी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको मानवअधिकार शिक्षा रेडियो कार्यक्रमबाट तय भएको हो । २०५१ माघ ७ गतेदेखि हरेक शनिबार रेडियो नेपालबाट प्रशारित यही कार्यक्रमलाई सङ्गठित रुपमा सुनेर प्रसारमा जोड दिने उद्देश्यले देशभरमा १ हजार ५ सयको हाराहारीमा क्लब खुलेका थिए । यसैगरी खुलेका क्लबमध्येको एक हो भिमानमा रुद्रबहादुर खड्काको नेतृत्वमा गठन भएको एक क्लब । यही क्लबबाट संस्थागत रुपमा उहाँको मानवअधिकार अभियान अगाडि बढेको हो । अहिले यस्ता क्लब अस्तित्वमा छैनन् तर क्लबबाट उदायका अभियन्ता देशविदेशमा चर्चित मानवअधिकारकर्मीका रूपमा स्थापित छन् ।

सिन्धुलीमा उहाँलाई धेरैले वास्तविक नामभन्दा पनि “मानवअधिकार दाइ” वा “मानवअधिकार भाइ” भनेर चिन्छन् । यो सम्बोधन कुनै औपचारिक सम्मान होइन, वर्षौँको निःस्वार्थ सेवाले कमाएको पहिचान हो । मानवअधिकारको विषय उठ्दा जिल्लामा सबैभन्दा पहिले सम्झिने अनुहारमध्ये उहाँ नै पर्नुहुन्छ । यो सम्बोधनको श्रेय पनि उहाँको मानवअधिकार शिक्षा कलबकै अभियानको देन हो । क्लबमार्फत उहाँले गर्नुभएको प्रयासलाई यहाँका नागरिकले अनुमोदन गरेकाले सम्बोधनमा नै मानवअधिकारको उपमा प्राप्त भएको हो ।

उहाँको काम केवल समाचार लेख्ने वा पत्रिका प्रकाशन गर्नेमा सीमित छैन । काठमाडौँबाट मानवअधिकारका स्रोत व्यक्ति ल्याएर विद्यालयका विद्यार्थी, सरकारी कर्मचारी, महिला समूह, दलित समुदाय, अपाङ्गता भएका व्यक्ति तथा अन्य विशेष आरक्षित समूहका लागि तालिम र अन्तरक्रिया सञ्चालन गर्नु उहाँको नियमित कार्य हो । मानवअधिकारलाई कानुनी पुस्तकको विषय मात्र होइन, दैनिक जीवनको व्यवहार बनाउन उहाँ निरन्तर लागिरहनुभएको छ ।

रुद्रबहादुर खड्काको जीवन आफैँमा सङ्घर्षको अर्को नाम हो । पाँच वर्षको उमेरमा पोलियोका कारण उहाँमा शारीरिक अपाङ्गता भयो । अहिले राज्यले उहाँलाई ‘ग’ वर्गको अपाङ्गता परिचयपत्र दिएको छ । तर, त्यो परिचयपत्रले सुविधा नदिए पनि उहाँको आत्मबल कहिल्यै कमजोर भएन । झण्डै पाँच दशकदेखि शारीरिक कठिनाइसँग जुध्दै उहाँले आफूलाई समाजका लागि उपयोगी बनाउने बाटो रोज्नुभयो । अन्य नागरिकको तुलनामा आफूलाई कहिल्यै कमजोर हुन दिनुभएन । उहाँ मानवअधिकारका विषयमामात्रै प्रतिस्पर्धामा उत्रनुभयो । कहिले आफैँसँग त कहिले राज्यसँग अनि कहिले समाजका अन्य व्यक्तिहरूसँग मानवअधिकारका सवालमा उहाँ पर्खाल झैँ उभिरहनुभएको छ ।

उहाँ आफैँ गरिखान सक्षम हुनुहुन्छ । नियमित रूपमा स्वाधीन खबर पत्रिका प्रकाशन गर्नुहुन्छ । त्यही पत्रिकाबाट हुने आम्दानीले उहाँलाई मानवअधिकारका कार्यक्रम, तालिम, सचेतना अभियान र समाजसेवाका कामहरू निरन्तर सञ्चालन गर्न ऊर्जा दिएको छ । सहयोगको प्रतीक्षा गरेर होइन, आफ्नै श्रम र पसिनाबाट समाज परिवर्तनको यात्रामा उहाँ अघि बढिरहनुभएको छ ।

उहाँका लागि पदभन्दा ठूलो कुरा सधैँ काम नै रह्यो । त्यसैले उहाँले पदभन्दा बढी गाउँको बाटो रोज्नुभयो, भाषणभन्दा बढी संवाद रोज्नुभयो र प्रचारभन्दा बढी सेवा रोज्नुभयो । हुन त उहाँ २०७३ सालतिर मानवअधिकार एलायन्सको केन्द्रीय सदस्यका रूपमा पनि सक्रिय रहनुभयो । मानवअधिकार शिक्षा रेडियो स्रोता क्लब भिमानको संस्थापक अध्यक्ष हुनुभयो । जिल्ला शाखाको अध्यक्ष हुनुभयो । मानवअधिकारकर्मीका रूपमा उहाँले थुप्रै सम्मान प्राप्त गर्नुभएको छ । पुरस्कार हात पार्नुभएको छ । उहाँको परिचय जिल्लामा मात्रै सीमित छैन । देशकै मानवअधिकार समुदायले उहाँलाई चिन्छ । र, बुझ्छ ।

रुद्रबहादुर खड्काको अभियान केवल सचेतनामै सीमित छैन, नीतिगत परिवर्तनतर्फ पनि उन्मुख छ । उहाँले नियमित रूपमा मानव आवाज अनलाइनमार्फत मानवअधिकारसम्बन्धी समाचार, विश्लेषण र गतिविधि सम्प्रेषण गर्दै विषयलाई सार्वजनिक बहसको केन्द्रमा ल्याइरहनुभएको छ । उहाँकै निरन्तर पहल, पैरवी र स्थानीय सरकारसँगको संवादका कारण सिन्धुलीका सबै नौ ओटै स्थानीय तहले चालु आर्थिक वर्षको बजेटमा ‘मानवअधिकार’ शीर्षकमा १० लाख रुपियाँ विनियोजन गरेका छन् । रकमको आकारभन्दा पनि स्थानीय सरकारहरूले मानवअधिकारलाई छुट्टै बजेट शीर्षकका रूपमा स्वीकार गर्नु आफैँमा महत्वपूर्ण उपलब्धि हो । यसले मानवअधिकार अब केवल गैरसरकारी संस्था वा अभियन्ताको एजेन्डा नभई स्थानीय सरकारको विकास र सुशासनको प्राथमिकतामा समेत प्रवेश गरेको सन्देश दिएको छ ।

आज पनि यदि सिन्धुलीका कुनै गाउँमा मानवअधिकारसम्बन्धी छलफल भइरहेको छ भने त्यहाँ रुद्रबहादुर खड्का पुग्नुभएको हुन सक्छ । यदि कुनै विद्यालयमा अधिकारका विषयमा प्रशिक्षण भइरहेको छ भने त्यसको संयोजन उहाँले गरिरहनुभएको हुन सक्छ । यदि कुनै स्थानीय तहमा मानवअधिकारको बहस भइरहेको छ भने त्यहाँ रुद्र भेटिनुहुन्छ । यदि कुनै समुदायले आफ्ना अधिकारबारे पहिलो पटक बुझिरहेको छ भने त्यसको पछाडि उहाँको अथक प्रयास हुन सक्छ ।

समयले रेडियोलाई मोबाइलमा, कागजी पत्रिकालाई डिजिटल माध्यममा रूपान्तरण गरिसकेको छ । तर एउटा कुरा परिवर्तन भएको छैन-रुद्रबहादुर खड्काको मानवअधिकारप्रतिको समर्पण । उहाँको काँधबाट रेडियो झरेको छ । हातमा पत्रिका आएको छ । तर, मनमा बोकिएको मानवअधिकारको सपना आज पनि उत्तिकै जीवन्त छ । सायद यही कारणले सिन्धुलीका धेरै मानिसका लागि रुद्रबहादुर खड्का एउटा व्यक्तिको नाम मात्र होइन, मानवअधिकारको पर्याय बन्नुभएको छ । उहाँको जीवनले एउटा सन्देश दिन्छ-साँचो अभियान पद, शक्ति वा स्रोतले होइन, निरन्तरता, प्रतिबद्धता र सेवाभावले जीवित रहन्छ ।

५४ वर्षीय खड्कालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले २०८२ सालको प्रकाश मानवअधिकार पुरस्कार दिने जनाएको छ ।

इन्सेकले २०८३ साउन १४ गते एक विज्ञप्ति जारी गर्दै मानव आवाजकर्मी खड्कालाई प्रकाश मानवअधिकार पुरस्कार दिन लागेको जनाएको हो ।

Author

Share the News

Recent News

Related News