मानव आवाज

२०८३ श्रावण ११ गते
00: 00: 00
२०८३ श्रावण ११ गते

माझखण्ड–कालेश्वर पदमार्ग:धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र ग्रामीण पर्यटनलाई जोड्ने नयाँ गन्तव्य

ललितपुर । बागमती गाउँपालिका र महाङ्काल गाउँपालिकामा फैलिएको माझखण्ड–रमिते–चमेरे गुफा–कालेश्वर क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ । प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक, जैविक तथा वानस्पतिक सम्पदाले भरिपूर्ण यी चार महत्वपूर्ण स्थललाई पदमार्गमार्फत जोड्ने अवधारणाले ग्रामीण पर्यटनको नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ । काठमाडौँ उपत्यकाबाट निकटमा रहेको यो गन्तव्य उपत्यकाको भिडभाड छाडेर शान्तिपूर्ण ग्रामीण जनजीवनमा घुलमिल गर्न उत्कृष्ट हुन्छ । काठमाडौँ उपत्यकाका चार भञ्ज्याङमध्ये दक्षिणतिरको तीनपाने भञ्ज्याङभन्दा बाहिरको यो पदयात्रा सम्झनालायक बन्छ ।

काठमाडौँ उपत्यकाका चार भञ्ज्याङमध्येको एक तीनपाने भञ्ज्याङ । हेटौँडा-काठमाडौँ लोकपथमा पर्ने भञ्ज्याङ ।

प्रस्तावित पदमार्गले माझखण्ड, रमिते, चमेरे गुफा र कालेश्वर मन्दिरलाई एउटै पर्यटकीय परिपथमा समेट्ने लक्ष्य लिएको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुका साथै स्थानीयस्तरमा रोजगारी सिर्जना, होमस्टे प्रवर्धन, संस्कृति संरक्षण र आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास गरिएको छ । रमिते यस क्षेत्रकै उत्कृष्ट दृश्यावलोकन स्थल हो । यहाँबाट हिमाल, महाभारत पर्वत शृङ्खला, काठमाडौँ उपत्यका तथा तराईका फाँटसम्म एकै स्थानबाट अवलोकन गर्न सकिन्छ । रमितेको एकै ठाउँबाट सगरमाथा हिमालय शृङ्खला, काठमाडौँ उपत्यका र तराई मधेशसँगै भारतको रक्सौल क्षेत्रसमेत देखिन्छ । उत्तरका सेता हिमालको मनोरम दृष्यसँगै महाभारत पर्वत शृङ्खलाको पहाडी भूभाग र तराईको समथर भूमिको दृष्यले यहाँ पुग्ने जो कोहीको मन पुलकित बनाउँछ ।प्राकृतिक मनोरम दृश्यका कारण रमिते पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने सम्भावना रहेको प्रस्तावमा उल्लेख गरिएको छ । रमितेबाट देखिने गाउँहरू हवाइजहाजबाट देखिए झैँ तलतल देखिन्छन् । जाँदा बाटोमा भेटिएका बडेमानका घरहरू पनि रमितेबाट मसिना देखिन्छन् । यहाँको जैविक विविधताले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । वनमा पाइने मौसम अनुसारका फलपूmलले पर्यटकलाई स्वागत गरिरहेको भान हुन्छ । यहाँको वनमा डाँडैपिच्छे र खोँचहरूमा भेटिने चराचुरुङ्गी र वन्यजन्तु तथा पर्यटकबिचको लुकामारी वर्णन गर्नै नसकिने किसिमको हुन्छ । कतैकतै जम्काभेट हुँदा दुवै डराउने त कतैकतै मुकाविला गर्नुपर्ने अवस्थासमेत सिर्जना हुन्छ । कोइलीको कुहुकुहु मात्रै हौइन स्यालको हाइहाइ र हुइहुइले वनै सङ्गीतमय बन्न पुग्छ ।

माझखण्ड धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मानिन्छ । हिन्दू धर्मग्रन्थमा वर्णित कथाअनुसार यो क्षेत्र कुनै कल्पमा दक्ष प्रजापतिको यज्ञस्थलसँग सम्बन्धित रहेको छ । यही पौराणिक प्रसङ्सँग जोडेर यहाँ महरुद्रेश्वर महादेवको महिमा स्थापित भएको मानिन्छ । यसका साथै माझखण्ड बौद्ध विहारले बौद्ध शिक्षा, ध्यान तथा आध्यात्मिक अभ्यासको केन्द्रका रूपमा पनि स्थापिमत छ, जहाँ स्वदेशी मात्र नभई विदेशी साधकसमेत आउने गरेका छन् । कुनै कल्पमा माझखन्डमा देवाधिदेव महादेवले रौद्ररुप धारण गरेका थिए । त्यसैले यहाँका महादेव रौद्रेश्वर अर्थात् रुद्रेश्वर नामले विराजमान भएको मानिन्छ । शास्त्रमा वार्णित दक्ष प्रजापतिको महायज्ञस्थलका यथेष्ट प्रमाण यहाँ छन् । सतीदेवीले पिता दक्ष प्रजापतिको अपमान सहन नसकी यज्ञकुन्डमा प्राण आहुती गरेपछि महादेव यहाँ स्वयम् प्रकट भई रौद्ररूप धारण गरेका थिए । यज्ञ विध्वंश गर्दै दक्षको शिर छेदन गरेको शास्त्रमा वर्णित छ । यो त्यहीस्थल हो भन्ने स्थलगत अवशेष र शास्त्रीय प्रमाणका तथ्य छन् । त्यसपछि महादेव क्रोधित भई सतीदेवीको मृत शरीर यज्ञकुन्डबाट बोकी पृथ्वी पराक्रममा हिँडेका थिए । यही शास्त्रीय मान्यताका आधारमा माझखण्ड परिचित छ ।

१००८ श्री रमणानन्द गिरी

यही वर्णनअनुसार नै पुण्यभूमि माझखण्डमा शिव र पार्वतीको जोडा शीला अदभूत शक्तिपीठको रूपमा रहेको धर्मगुरूहरू बताउँछन् । ‘शिवपान्चायनका साक्षत रूप एकै शीलामा सँगै छन् । शिव, पार्वती, गणेश, सूर्य र विष्णुका प्राकृतिक शीला एकैस्थलमा विराजमान हुनु दुर्लभ हो ।’–महेश संस्कृत आश्रम देवघाटधामका पीठाधीश १००८ स्वामी रमणानन्द गिरीले भन्नुभयो । यही ऐतिहासिक र पौराणिक विशिष्टताकै कारणले रुद्रेश्वर मात्रै होइनन् महारुद्रेश्वर भनिनुपर्छ भन्ने धार्मिक अध्येता गुरुहरूको मत छ । महारुद्रेश्वरको वरिपरि गौरीकुन्ड, ऋषिखल, भद्रकालीगुफा, भैरबस्थान, देवीस्थानजस्ता ऐतिहासिक स्थल हुनु थप दृष्टान्त भएको उहाँहरूको भनाइ छ ।

गिम्दीस्थित चमेरे गुफा जैविक तथा प्राकृतिक दृष्टिले महत्वपूर्ण सम्पदा हो । हजारौँ चमेराको बासस्थान रहेको यो गुफा अनुसन्धान, अध्ययन तथा साहसिक पर्यटनका लागि उपयुक्त मानिएको छ । गुफाभित्रको रहस्यमय वातावरण र प्राकृतिक संरचनाले पर्यटकलाई थप आकर्षित गर्ने विश्वास गरिएको छ । गुफा र वरपरको वातावरणमा जो कोही केही घण्टाका लागि हराउन पुग्छ । आफूलाई त्यतै कतै समर्पण गर्न पुग्छ । तुन्द्रुङ्ग झुण्डेका चमेराको चर्तिकला हेर्दैमा समय बितेकै पत्तो हुँदैन । प्रचार र प्रवर्धनको अभावमा यो गुफा गाउँमा मात्रै सीमित रहन पुगेको छ । प्रस्तावित पदमार्गले यसलाई जीवन्तता दिनेमा बागमती गाउँपालिका विश्वस्त छ ।

त्यसैगरी, कालेश्वर महादेव मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र हो । स्थानीय किंवदन्तीअनुसार सतीदेवीसँग सम्बन्धित पौराणिक घटनासँग यो स्थान जोडिएको मानिन्छ । यस कारण वर्षौंदेखि हजारौँ भक्तजन यहाँ दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन् । गोटीखेलमा रहेको वैतरणीधामबाट कालमोचनले कालेश्वरमा चोखो जल लगेर नित्य पूजा गर्ने गरेको र बाटोमा पर्ने चन्दन ढुङ्गोमा चन्दन घोट्ने गरेको किम्बदन्ती छ । यहाँको चन्दन ढुङ्गो अपत्यारिलो तरिकाले अडेको छ । जुन पर्यटकका लागि अदभूत बन्न सक्छ । सानो आधारमा ठुलो ढुङ्गो अडेको छ । र्पथ्वीमा आएका धेरै विपत्तिको साक्षी यो ढुङ्गोले १९९० र २०७२ सालमा आएका विनासकारी भुइँचालोलाई फिसै मानेन । कालेश्वर मन्दिर प्याङ्गाउँलेहरूको कुल देवता पनि भएकाले चापागाउँको प्याङ्गाउँबाट महर्जनहरूको आउजाउ बाक्लो हुने गर्दछ । अन्यत्रका धर्मावलम्बीहरूको पनि कालेश्वरमा भीड लाग्ने गर्दछ । विशेषगरी साउन र माघ तथा सोमबारहरूमा यहाँको शिवालयमा भक्तजनको घुँइचो लाग्ने गर्दछ । यहाँबाट नजिकै पर्ने कालेश्वरको लुङ्गतोङ गुम्बा, मानिखेलको सिम्बा झरनाले पनि पर्यटकको प्रतीक्षा गरिरहेको भान हुन्छ ।

पर्यटनको आकर्षक पदमार्ग

चरसुन्दर महर्जन, अध्यक्ष, कालेश्वर क्षेत्र विकास समिति

कालेश्वर क्षेत्रलाई धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनको उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने ठूलो सम्भावना छ । काठमाडौँबाट सहज पहुँच हुने भएकाले यो क्षेत्र पदयात्री तथा आन्तरिक एवम् बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्छ । शहरको भीडभाडबाट केही समय टाढा रहेर गाउँको शान्त वातावरण, हरियाली र प्राकृतिक सौन्दर्यको अनुभूति गर्न सकिने भएकाले यहाँ आउने पर्यटकले फरक किसिमको आनन्द प्राप्त गर्नेछन् । यस्तो पर्यटन प्रवर्धनले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु । यो पर्यटनको आकर्षक पदमार्ग बन्ने कुरामा दुविधा छैन ।

हामीले कालेश्वरलाई केन्द्रमा राखेर माझखण्ड, रमिते, चमेरे गुफा, वैतरणी र सिम्बा झरनालाई एउटै धार्मिक तथा पर्यावरणीय पदयात्रा मार्ग (ट्रेकिङ रुट) मा जोड्ने अवधारणालाई अगाडि बढाउन सक्छौँ । यसले एकै यात्रामा धार्मिक आस्था, प्राकृतिक सौन्दर्य, गुफा पर्यटन, झरना र ग्रामीण संस्कृतिको अनुभव दिलाउने भएकाले यो रुट देशकै नमुना पर्यटन गन्तव्य बन्न सक्छ । यसका लागि स्थानीय समुदाय, सरोकारवाला निकाय र सबै तहका सरकारबिच सहकार्य गर्दै पूर्वाधार विकास र पर्यटन प्रवर्धनका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउन आवश्यक छ ।

प्रस्तावित परियोजनाअन्तर्गत नयाँ पदमार्ग निर्माण, विश्रामस्थल र चौतारा निर्माण, सूचना तथा सङ्केत बोर्ड स्थापना, वातावरणमैत्री पूर्वाधार विकास, फोहोर व्यवस्थापन, शौचालय निर्माण, स्थानीय स्रोत–साधनको उपयोग तथा स्थानीय गाइड र होमस्टे सञ्चालकलाई तालिम दिने योजना समावेश गरिएको छ । यसबाट पदयात्रा सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बन्ने अपेक्षा गरिएको छ । यस योजनाबाट स्थानीय बासिन्दा, होमस्टे सञ्चालक, व्यवसायी, विद्यार्थी, अनुसन्धानकर्ता तथा स्वदेशी–विदेशी पर्यटक प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । परियोजना कार्यान्वयनपछि पर्यटक आगमन वृद्धि, ग्रामीण अर्थतन्त्र सुदृढीकरण, स्वरोजगार विस्तार तथा धार्मिक–सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

महाङ्काल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले प्रदेश सरकार तथा सङ्घीय सरकारसमक्ष यो गन्तव्यका लागि आवश्यक बजेटका लागि पहल र प्रयास भइरहेको बताउनु भएको छ । उहाँले यो पदमार्गले ललितपुरको दक्षिण भेगको मुहार नै फेरिदिने बताउनुभयो । यहाँको आर्थिक विकासका लागि यो पदमार्ग उपर्युक्त गन्तव्य हुने उहाँको भनाई छ । यस कामका लागि गाउँपालिकाले पनि आफ्नो स्रोत र साधनको उपयोग गर्ने नीति लिएको अध्यक्ष केसीको भनाई छ । बागमती गाउँपालिकाले पनि माझखण्ड–रमिते क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरी काम थालेको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन पर्यटन प्रवर्धनका लागि तीनै तहका सरकारको समन्वयमा काम अघि बढाउनुपर्ने बताउनुहुन्छ ।

धार्मिक आस्था, प्राकृतिक सम्पदा र ग्रामीण जीवनशैलीलाई एउटै पर्यटकीय शृङ्खलामा जोड्ने माझखण्ड–कालेश्वर पदमार्गको अवधारणा सफल कार्यान्वयन हुन सके ललितपुरको दक्षिण भेगलाई नेपालको आकर्षक धार्मिक तथा पर्यावरणीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण आधार बन्न सक्छ । बन्दै गरेको यहाँको पदमार्ग बन्नु अगाडिको अवस्थाबारे थाहा पाउन एकपटक घुम्न जाऔँ । बुझ्न र बझाउन माझखण्ड–रमिते–चमेरे गुफा–कालेश्वरको यात्रामा आजै जााऔँ ।

Author

Share the News

Recent News

Related News