ललितपुरको बागमती गाउँपालिका-५, माझखण्डमा रहेको बुद्ध विहार र बुद्धको मूर्ति धार्मिक मात्र नभई कलात्मक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । नेवार समुदायको बौद्ध परम्परा, पूजापाठ, पात्रोअनुसार मनाइने पर्व तथा साँझबिहान गरिने दीप प्रज्ज्वलनले विहारको आध्यात्मिक वातावरणलाई थप गहिरो बनाउँछ । समयक्रममा बुद्ध विहार स्थानीय समाजको सांस्कृतिक केन्द्रका साथै बुद्ध दर्शन सिक्ने, अध्ययन गर्ने र साधना गर्ने स्थलका रूपमा समेत विकसित हुँदै आएको छ । नेवारी बसोबासभन्दा पर तामाङ बाहुल्यता भएको ठाउँमा रहेको यो विहारले सामाजिक सद्भावको विरासत बोकेको छ । तामाङहरू प्राय महायानी हुन्छन् र नेवारहरू अधिकांश थेरावादी परम्परा मान्छन् । यहाँको विहारले यो दुवैको सन्तुलन मिलाएको छ । विहारले स्थानीय समुदायको विश्वास, परम्परा र बौद्ध संस्कृतिको निरन्तरता जोगाउँदै आएको छ ।
माझखण्ड पुग्दा सबैभन्दा पहिले ध्यान तान्ने कुरा यहाँको शान्त वातावरण नै हो । वरिपरि देखिने हरियाली, महारुद्रेश्वर मन्दिरको धार्मिक परिवेश र बुद्ध विहारबाट आउने आध्यात्मिक अनुभूतिले माझखण्डलाई सामान्य धार्मिक स्थलभन्दा फरक बनाएको छ । अग्लो ठाउँमा बनाइएको विहारबाट हेर्दा वरपरको भौगोलिक दृश्य हेर्दा मात्रै पनि छुट्टै आनन्द आउँछ । स्थानीयका लागि यो आस्थाको केन्द्र हो भने बौद्धमार्गीका लागि ध्यान, साधना र बुद्ध दर्शन बुझ्ने थलो हो । एकै ठाउँबाट हिमाल, पहाड र तराईको दृष्यावलोकन साँच्चै अद्भुत लाग्छ ।
माझखण्डको बुद्ध विहारमा हरेक वर्ष भिक्षु, भन्तेहरू वर्षाबासमा रहनुहुन्छ । वर्षाबास हरेक वर्षको महत्वपूर्ण धार्मिक अभ्यास हो । वर्षात्को समयमा तीन महिनासम्म एउटै स्थानमा बसेर गरिने साधनालाई ‘वर्षाबास’ भनिन्छ । असार पूर्णिमादेखि असोज पूर्णिमासम्मको अवधिमा प्रव्रजितहरू एकै ठाउँमा बसेर बुद्ध शिक्षाको अध्ययन, मनन् र अभ्यास गर्छन् । वर्षाबास बस्नेहरूले बिहानैदेखि पूजापाठ, ध्यान र साधना गर्दछन् भने मध्यान्ह १२ बजेभित्रै भोजन ग्रहण गर्छन् । मध्यान्हपछि पनि धार्मिक गतिविधिमा मात्रै सीमित रहन्छन् । एकाग्रता, ध्यान, साधना, पूजापाठ नै वर्षाबासका प्रमुख पक्ष हुन् । वर्षात्को समयमा बाहिर हिँड्दा साना कीटपतङ्ग तथा जीवजन्तु कुल्चिने र मारिने सम्भावना बढी हुने भएकाले अहिंसा तथा अकुशल कर्मबाट बच्न पनि एकै ठाउँमा बसेर साधना गर्ने परम्परा रहेको बताइन्छ । त्यसैले यस अवधिमा बाहिरी गतिविधिभन्दा ध्यान, अध्ययन, आत्मअनुशासन र बुद्ध शिक्षाको अभ्यासलाई प्राथमिकता दिइन्छ ।
हरेक वर्ष हुने वर्षाबास र त्यसपछि गरिने चीवर दानले माझखण्ड बुद्ध विहारमा छुट्टै धार्मिक र आध्यात्मिक चहलपहल थप्छ । वर्षाबासका लागि भिक्षु तथा गुरुमा विहारमा बस्छन् । तीन महिनासम्मको यो बसाइ एउटै ठाउँमा रहनु मात्र होइन, ध्यान, अध्ययन, आत्मअनुशासन र बुद्ध शिक्षाको अभ्यास गर्ने विशेष अवधि हो । यो वर्षको वर्षाबास २०८३ साउन १४ गतेबाट सुरु भइसकेको छ । यसरी वर्षाबास बस्नुलाई अधीस्थान ग्रहण गरेको भनिन्छ । अधीस्थान भनेको निश्चित अवधि एउटै स्थानमा बसेर साधना गर्ने सङ्कल्प हो । यो तीन महिनासम्म निरन्तर चलिरहन्छ । बिचमा केही काम परिहाले ६ दिनसम्म बाहिर रहन मिल्छ । तर, सात दिनभन्दा बढी रहनुपरेमा वर्षाबास स्वतः रद्द हुन्छ । यो नियम विहारमा कडाइका साथ लागु हुन्छ ।
यहाँ वर्षाबासमा यो वर्ष बोधिज्ञान भन्ते, भिक्षु ओभासो र पिङ्क भन्ते हुनुहुन्छ । माझखण्डको यो छैठौँ वर्षाबास हो भने यहाँ बोधिज्ञान भन्तेको पाँचौँ । उहाँ एक वर्ष भोजपुरस्थित विहारमा वर्षाबास बस्नुभयो । पिङ्क थाइ भन्ते हुनुहुन्छ । यसवर्ष सात जना व्यक्ति अल्पकालीन वर्षाबासमा हुनुहुन्छ । ललितपुर र काठमाडौँका व्यक्तिहरूका साथै यहाँको विहारका संस्थापक ८३ वर्षीय चन्द्रबहादुर स्याङ्तान पनि अल्पकालीन वर्षाबासमा हुनुहुन्छ । उहाँ पुरै तीन महिना वर्षाबासमा बस्ने सङ्कल्पका साथ धार्मिक गतिविधिमा सक्रिय हुनुहुन्छ । गृहस्थी जीवन पुरै त्यागेर धार्मिक यात्रामा लागेकाहरूबाहेक कम्तीमा १० दिनदेखि तीन महिनासम्मै गृहस्थी जीवनबाट अलग्गिएर अधीस्थान ग्रहण गरी बस्नेहरु अल्पकालीन वर्षाबास बस्ने भनेर बुझिन्छ । अल्पकालीन बस्नेहरूको सङ्ख्या पछिसम्म पनि थपिन सक्छ ।
वर्षाबास सकिएपछि विहारमा अर्को महत्वपूर्ण धार्मिक गतिविधि सुरु हुन्छ-चीवर दान । तीन महिनाको साधना पूरा भएपछि हर्षोल्लासका साथ गरिने यो दान बौद्ध परम्परामा विशेष महत्वको हुन्छ । चीवर भिक्षु वा भन्तेले धारण गर्ने वस्त्र हो । बौद्ध परम्परा अनुसार भिक्षुले सीमित सङ्ख्यामा मात्र चीवर राख्न पाउने व्यवस्था छ । वर्षाबासपछि गरिने कठिन चीवर दानमा चीवरसँगै खाद्यान्न, आवश्यक सामग्री तथा रकमसमेत दान गर्ने चलन छ । खाद्यान्नलगायतका सामग्रीको दान चाहिँ विहारमा जहिले पनि गर्न मिल्छ । तर, चीवर दान निश्चित समय र धार्मिक विधिअनुसार मात्रै गर्न मिल्ने भएकाले यसको महत्व अझै बढेको हो । दानबाट सङ्कलित रकम तथा सामग्री विहार वा भिक्षु सङ्घलाई प्रदान गरिन्छ । दानसँगै पञ्चशीलको पालना, सत्चरित्र, सत्मार्ग, सत्वचन, सत्कर्म र सदाचारप्रतिको प्रतिबद्धतालाई महत्व दिइन्छ ।
माझखण्डको वर्षाबासको विशेषता धार्मिक अनुष्ठानमा मात्र सीमित छैन । यहाँको प्राकृतिक र भौगोलिक परिवेशले पनि ध्यान र साधनाका लागि उपयुक्त वातावरण बनाएको साधकहरूको अनुभव छ । रुद्रेश्वर मन्दिर, सल्लेस्थित टासी छ्योइलिङ गुम्बा र बुद्ध विहार आसपासको वातावरणमा छुट्टै ऊर्जा महसुस हुने अरियञाणी गुरुमा बताउनुहुन्छ । बुद्ध विहारसँगैको चिहानडाँडा र पोखरीडाँडास्थित महारुद्रेश्वर मन्दिर आसपासमा छुट्टै उर्जा प्राप्त हुने उहाँ बताउनुहुन्छ । त्यो उर्जा थाहा पाउन ति ठाउँमा गएर ध्यानमा बस्नुपर्ने उहाँको भनाइ छ ।
एकान्त वातावरण, हरियाली र प्राकृतिक छटाबिच ध्यान गर्न पाउँदा साधकहरूले आफूलाई बुद्धकालीन परिवेशसँग नजिक महसुस गर्ने गरेका छन् । रुखमुनि बसेर ध्यान गर्ने, खाली गोडा हिँड्ने तथा प्रकृतिसँग नजिक रहेर साधना गर्दा एकाग्रता बढेको र स्मरणशक्ति बलियो भएको अनुभवसमेत केही ध्यानीहरूले सुनाउने गरेका छन् । यी ध्यानका नाम र विशेषता पनि छुट्टै छन् । जस्तै रुखमूल ध्यान, चङ्क्रमण ध्यान आदि । यी ध्यान गर्दा माझखण्डको प्राकृतिक एकान्तमा साधना आफैँ प्रकृतिसँग संवाद गरेजस्तो हुने ध्यानीहरू बताउँछन् । त्यसैले माझखण्डमा एकपटक ध्यानका लागि पुगेका धार्मिक अनुयायी फेरि फर्किन चाहने गरेको बोधिज्ञान भन्तेको अनुभव छ । यहाँको वातावरणलाई शब्दमा भन्दा आफैँ आएर अनुभव गर्नुपर्ने उहाँको भनाइ छ । माझखण्डको वर्षाबास तीन महिनाको बसाइँ मात्रै होइन, परम्परा र पुस्ताबिचको सम्बन्ध जोड्ने एउटा निरन्तर यात्रा हो । जहाँ मौनताभित्र ध्यान हुन्छ । ध्यानभित्र अनुशासन हुन्छ । र, अनुशासनभित्र बुद्ध शिक्षाको खोजी हुन्छ । यी सबै कर्मका लागि माझखण्डमा वर्षाबास उपर्युक्त छ । त्यसैले माझखण्डको वर्षाबास केवल तीन महिना एउटै ठाउँमा बसेर गरिने धार्मिक अभ्यास होइन । यो ध्यान, अनुशासन र प्रकृतिसँगको निकटतामार्फत पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको बौद्ध परम्परालाई निरन्तरता दिने एउटा यात्रा पनि हो ।