पोखरा । पोखरा महानगरपालिका-१७ मा २०६९ सालमा स्थापना भएको सामाजिक संस्था नेवा पुचः छोरेपाटनको आयोजना जनैपूर्णिमाको अवसर पारी तीन वर्षदेखि प्रदर्शन गर्दै आएको लाखे नाचलाई यो वर्ष पनि निरन्तरता दिइएको छ ।
नेवारी समुदायको ऐतिहासिक लाखे नाचले पोखराको छोरेपाटन क्षेत्रमा स्थानीय समुदाय थप आकर्षित गरेको अवलोकन गर्न आएका स्थानीय समाजसेवी बुद्विबहादुर कार्कीको अनुभव छ ।
कला, संस्कृतिको जगेर्ना गर्न, नयाँ पुस्ताको आकर्षण तथा जात्रालाई जीवन्त राख्न र भाइचरा सुमधुर राख्ने उद्देश्यले सीमित स्रोत साधनका बिच तेस्रो संस्करणको लाखे नाच प्रदर्शन गरिएको अध्यक्ष रक्षप्रसाद श्रेष्ठले जानकारी दिनु भयो ।
श्रेष्ठका अनुसार नेवार समुदायका विभिन्न जात्रा एवम् पर्वको प्रचलनसँग लाखे नाच पनि भित्राएको किम्बदन्ती रहेको छ ।
जनैपूर्णिमा अर्थात रक्षाबन्धनको दिन २०८२ साउन २४ गते दिउँसो छोरेपाटन, सितलपथ, बेलघारी र पातले छाँगो क्षेत्रमा नाच प्रस्तुत गरिएको सचिव लालकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
स्थानीय दर्शकहरूले लाखे नाचको स्वागत गर्दै छुट्टै खालको रमाइलोको अनुभूति लिएको बताए । नाच हेर्नेको सङ्ख्या उल्लेख रहेको थियो ।
लाखे नाचमा सहभागी कलाकारको टोलीले आफ्नै मौलिकता झल्काउने बाजाको ताल, नाच्ने कला फरक शैलीको रहेकोले अवलोकनकर्ताहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।
नेवा पुचः छोरेपाटनले लाखे नाच प्रदर्शनलाई आगामी दिनमा पनि निरन्तरता दिने र व्यवस्थापन पक्षलाई सवल बनाउने अध्यक्ष श्रेष्ठले बताउनु भयो ।