बाजुरा । बडीमालिका धार्मिक यात्रा २०८२ भव्य रूपमा सुरु भएको छ । २०८२ साउन २० गते बिहान मार्तडीबाट तीन दिनको पैदल यात्रा प्रारम्भ गरी बडीमालिका पुग्ने परम्परा अनुसार औपचारिक कार्यक्रम गरिएको हो ।
यस वर्ष धनगढी, डोटी, जुम्ला र कालिकोटदेखि सरकारी टोली सहभागी भएका छन् । बडीमालिका र त्रिवेणी नगरपालिकाले क्रमशः दुई र तीन दिन सार्वजनिक बिदा घोषणा गरेका छन् ।
बडीमालिकाका नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा, प्रमुख जिल्ला अधिकारी मेधनाथ पाध्यायलगायतले सरकारी पूजा टोलीलाई सलामी, पञ्चेबाजा र धार्मिक विधिबाट बिदाइ गर्नुभएको छ ।
टोलीमा पञ्चकन्या, महिला, विद्यार्थी र सुरक्षाकर्मीको सहभागिता छ । यसअघि डोटी र जुम्लाबाट मात्र औपचारिक पूजा सामग्री पठाउने परम्परा भए पनि यस वर्षदेखि धनगढी उप–महानगरले पनि टोली पठाएको छ ।
धार्मिक आस्था, ऐतिहासिक महत्व र प्राकृतिक सौन्दर्यले भरिपूर्ण बडीमालिकामा यस वर्ष तीर्थयात्रीको सङ्ख्या रौनकपूर्ण देखिएको छ ।
बडीमालिकाको मन्दिर स्कन्दपुराणमा वर्णित शक्तिपीठमध्ये एक हो, जहाँ सतीदेवीको बायाँ काँध पतन भएको जनश्रुति छ । मन्दिर आदिकालदेखि नेपाली सेनाको इष्टदेवीका रूपमा पूजिँदै आएको हो ।
यात्रामा स्वास्थ्य र सुरक्षाका लागि नेपाली सेनाले २०८२ साउन २१ गतेदेखि साउन २४ गतेसम्म त्रिवेणी पाटन र मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछ ।
३० जना स्वयम्सेवक र स्वास्थ्यकर्मी परिचालन गरी बाटोमा सहयोग, उपचार, पानी र उद्धारको व्यवस्था गरिएको जनाइएको छ ।
विभिन्न स्थानमा स्वागत गेट, पानी, खाजा वितरण र सरसफाइ अभियानले यात्रा अझ भव्य र सुव्यवस्थित बनेको छ ।