मानव आवाज

२०८३ मङ्सिर १३ गते
00: 00: 00
२०८३ मङ्सिर १३ गते

 ‘जब कृषक बाँच्छन्, तब मात्र हामी बाँच्न सक्छौँ’

पोखरा । मौलिक कृषि संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने उद्देश्यले पोखरामा आयोजित ‘तेस्रो दाइँ महोत्सव २०८३’ सम्पन्न भएको छ ।

महोत्सवमा परम्परागत दाइँ गर्ने कृषि अभ्याससँगै नेपाली संस्कृति, खानपान र लोकसङ्गीतको अनुभव लिन स्वदेशी तथा विदेशी पर्यटक सहभागी भएका थिए ।

‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारालाई आत्मसात् गर्दै पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद्को संयुक्त आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवर्धनमा मङ्सिर १२ गते पोखरा महानगरपालिका-२९, लेखनाथको नौविसेटोलमा महोत्सव आयोजना गरिएको हो ।

महोत्सवका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लोपोन्मुख अवस्थामा पुगेको गोरुबाट दाइँ गर्ने परम्परा संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँले नेपाली मौलिक संस्कृति, परम्परा र कृषि प्रणालीलाई विदेशी पाहुना तथा नयाँ पुस्तासमक्ष चिनाउन यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्नुभयो ।

महोत्सवलाई सम्बोधन गर्दै प्रमुख आचार्यले धान थन्काउने परम्परागत प्रक्रियालाई उत्सवका रूपमा मनाउँदै संस्कृति र पर्यटन प्रवर्धन गर्ने प्रयास गरिएको बताउनुभयो ।

रोपाइँ, दाइँ तथा दसैँ, तिहार र तीजजस्ता मौलिक चाडपर्वमा विदेशी पाहुनालाई समेत सहभागी गराएर नेपाली जनजीवन र संस्कृति चिनाउने अभियान विगतदेखि नै सञ्चालन हुँदै आएको उहाँले बताउनुभयो ।

विभिन्न सङ्घसंस्थाले यस्ता कार्यक्रमको अपनत्व लिएको उल्लेख गर्दै उहाँले लेकसाइडमा गाई तिहार र कुकुर तिहारका अवसरमा विदेशी पर्यटकलाई सहभागी गराएर नेपाली मौलिक अभ्यास देखाइएको स्मरण गर्नुभयो ।

मानिस, प्रकृति, वनस्पति, पशुपन्छी र पारिस्थितिक प्रणालीबीचको सम्बन्धलाई उजागर गर्दै नेपाली जनजीवनको वास्तविक चित्र प्रस्तुत गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो ।

गोरु तिहारमा पूजा गरिएका गोरुलाई नै प्रयोग गरेर धान थन्काउने परम्परागत अभ्यासलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो ।

सूचना प्रविधि र यान्त्रीकरणको युगमा परम्परागत तरिकाले काम गर्दा किन दुःख गरेको भन्ने प्रश्न उठ्न सक्ने भए पनि मौलिक परम्परा र कृषि प्रक्रियासम्बन्धी ज्ञान जोगाउन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

शहरी क्षेत्रका कतिपय बालबालिकाले दूध प्लास्टिकको पोकाबाट र चामल बोराबाट आउने बुझाइ राख्ने अवस्था रहेको उल्लेख गर्दै प्रमुख आचार्यले बीउ राख्ने, रोप्ने, गोडमेल गर्ने, सिँचाइ गर्ने, धान थन्काउने र चिउरा बनाउनेसम्मका कृषि प्रक्रिया बुझाउनुपर्ने बताउनुभयो ।

विद्यार्थीलाई सामाजिक अध्ययन तथा व्यवहारिक अनुभवमार्फत कृषि प्रणालीबारे जानकारी गराउनुपर्ने उहाँको भनाइ थियो ।

महोत्सवमार्फत राम्रो पराल जोगाउने, धान थन्काउने कामलाई उत्सवका रूपमा मनाउने र उत्कृष्ट धान उत्पादन गर्ने किसानलाई महानगरपालिकाको तर्फबाट सम्मान तथा सहयोग गर्ने नीति रहेको उहाँले स्पष्ट पार्नुभयो ।

साथै, मौसम र क्षेत्रअनुसार उपयुक्त धानको जात छनोट, बीउ व्यवस्थापन र उत्पादन लागत घटाउने विषयमा प्राविधिक तथा नीतिगत सहकार्य अघि बढाइरहेको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले मौलिक तथा परम्परागत दाइँको संरक्षण र प्रवर्द्धन गर्दै कृषिलाई पर्यटनसँग जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

पुरानो कृषि प्रणालीलाई पर्यटकले हेर्न, बुझ्न र अनुभव गर्न सक्ने गतिविधिका रूपमा विकास गर्ने प्रयास महोत्सवले गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवमा चार हल गोरुबाट दाइँ गरिएको थियो भने १७ जना दँदेराले गोरु धपाउने, दँदेरा लगाउने, पराल बाँध्ने र परालको कुनियो लगाउनेलगायतका परम्परागत गतिविधि प्रस्तुत गरेका थिए ।

परम्परागत दाइँको झल्को दिन खाजा तथा खाना परालमाथि र बारीको पाटामा बसेर खाने व्यवस्था गरिएको थियो । सोही अवसरमा उत्कृष्ट धान उत्पादक कृषकलाई सम्मानसमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले स्थानीय उत्पादनको प्रवर्धन गर्दै पोखरेली जेठोबुढो धानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा चिनाउन महानगरपालिकाले पहल गर्नुपर्ने बताउनुभयो ।

यस अभियानमा लेखनाथ उद्योग वाणिज्य सङ्घले पनि साथ र सहयोग दिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

विगतमा ढोडबेसी क्षेत्रका कृषकले डोकोमा खुदो बोकेर घरघरै बिक्री गर्न जाँदा मिसावट वा गुणस्तरको शङ्का गर्दै अपहेलना सहनुपर्ने अवस्था रहेको स्मरण गर्दै उहाँले अहिले महानगरपालिकाले मेलामार्फत एउटै थलोबाट गुणस्तरीय खुदोको उचित मूल्य पाउने वातावरण सिर्जना गरेको बताउनुभयो ।

बेमौसमी तरकारीदेखि अन्य कृषि उपजमा छुट सुविधा, राहत प्याकेज तथा समर्थन मूल्य उपलब्ध गराएर कृषकलाई जोगाउन महानगरपालिकाले सकारात्मक भूमिका खेलेको उहाँको भनाइ थियो ।

‘जब कृषक बाँच्छन्, तब मात्र हामी बाँच्न सक्छौँ’ भन्ने यथार्थलाई महानगरपालिकाले आत्मसात् गरेको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले परम्परागत कृषिलाई पर्यटनसँग जोड्दै समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

पर्यटन प्रवर्धनका लागि विविध कार्यक्रम तथा गतिविधि आयोजना गर्नुपर्ने उल्लेख गर्दै उहाँले जति धेरै इभेन्ट आयोजना गरिन्छ, त्यति नै पर्यटक आकर्षित हुने बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले किसानलाई प्रोत्साहित गर्दै कृषि र पर्यटनलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

आधुनिक कृषि प्रविधिका कारण हराउँदै गएको परम्परागत अभ्यासबारे नयाँ अनुभव तथा जानकारी प्राप्त गर्न महोत्सव उपयोगी भएको उहाँले उल्लेख गर्नुभयो ।

महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले परम्परागत कृषि प्रणालीलाई प्रवर्द्धन गर्दै गोरु पाल्न किसानलाई प्रोत्साहित गर्ने उद्देश्य महोत्सवले बोकेको बताउनुभयो ।

दाइँ महोत्सवका अवसरमा उत्कृष्ट धान उत्पादन गर्ने तीन जना किसानलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। प्रतियोगितामा पोखरा महानगरपालिका-२७ का शिवप्रसाद भण्डारी पहिलो हुँदै १० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्न सफल हुनुभयो ।

त्यस्तै, पोखरा महानगरपालिका-१३ का मिलन अधिकारी दोस्रो हुँदै ७ हजार रुपियाँ र वडा नम्बर २८ का शोभितबहादुर अधिकारी तेस्रो हुँदै ५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो ।

महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो। लोप हुँदै गएको परम्परागत कृषि प्रणालीलाई प्रत्यक्ष अवलोकन गर्न पाउँदा विद्यार्थीहरू खुसी भएको सहभागीहरूले बताएका थिए ।

महोत्सवमा ५० भन्दा बढी विदेशी पर्यटक सहभागी भएका थिए । विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय सर्वसाधारण, पर्यटन व्यवसायी, उद्योगी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरिराम अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने महासचिव मिलन तिवारीले सञ्चालन गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार