पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाटमा उपचाररत जेनजी आन्दोलनका घाइते ढकबहादुर नेपालीलाई नागरिकताको दोस्रो प्रतिलिपि प्रदान गरेको छ । प्रशासनले अस्पतालमै पुगेर उहाँकी आमा उदकुमारी सार्कीमार्फत नागरिकताको प्रतिलिपि प्रदान गरेको हो ।
२०८२ भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका मादी गाउँपालिका-८ निवासी ढकबहादुर नेपाली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा उपचाररत हुनुहुन्छ ।
नेपालीको नागरिकताको दोस्रो प्रतिलिपि २०८३ मङ्सिर १० गते जारी गरिएको थियो । सोही दिन कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र लामगादेले अस्पतालमै पुगेर उहाँकी आमा उदकुमारी सार्कीलाई नागरिकताको प्रतिलिपि प्रदान गर्नुभएको हो ।
नागरिकताको विवरणअनुसार नेपालीको जन्ममिति २०६३ भदौ ८ गते रहेको छ । उहाँको मूल नागरिकता प्रमाणपत्र २०८० माघ ३ गते जारी भएको उल्लेख छ ।
घाँटीमा गोली लागेर घाइते हुनुभएका नेपालीले नागरिकताको प्रमाणपत्र हराएका कारण राज्यबाट उपलब्ध हुने सेवा तथा सहयोग प्राप्त गर्न कठिनाइ भोग्दै आउनुभएको थियो ।
नागरिकताको प्रतिलिपि प्राप्त भएपछि सेवा तथा सहयोग लिन सहज हुने विश्वास उहाँकी आमा उदकुमारी सार्कीले व्यक्त गर्नुभएको छ ।