मानव आवाज

२०८३ मङ्सिर १३ गते
00: 00: 00
२०८३ मङ्सिर १३ गते

सङ्‌कल्पद्वारा युवा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा । युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्दै उनीहरूको आवाज निर्णय प्रक्रियामा समेट्ने उद्देश्यले पोखरामा आयोजित युवा नेतृत्व विकाससम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ ।

‘परिवर्तनका लागि युवा नेतृत्व’ र ‘सबैको नेतृत्व विकास’ भन्ने मूल नारासहित शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (सङ्कल्प) गण्डकी प्रदेशको आयोजनामा तालिम २०८३ मङ्सिर ११ गते सम्पन्न भएको हो ।

तालिममा प्रमुख प्रशिक्षक दुर्गा शोबले नेतृत्व विकाससम्बन्धी प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो । प्रशिक्षणमा नेतृत्वको अर्थ र अभ्याससँगै नेतृत्वमा युवाको आवश्यकता, उनीहरूका लागि उपलब्ध अवसर, सामना गर्नुपर्ने चुनौती तथा सकारात्मक पहलका विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी, सङ्कल्प गण्डकी प्रदेशकी अध्यक्ष तथा अधिवक्ता सरिता तिम्सिना पङ्गेनीले युवा सहभागिता, अधिकार तथा सामाजिक उत्तरदायित्वका विषयमा सहजीकरण गर्नुभएको थियो ।

तालिममा विविध पृष्ठभूमिका युवाको सहभागिताले नेतृत्व विकासका अवसर सबैका लागि पहुँचयोग्य हुनुपर्ने महत्त्वलाई उजागर गरेको थियो ।

सहभागीहरूले प्रशिक्षणबाट नेतृत्वमा युवाको भूमिका र सम्भावनाबारे महत्त्वपूर्ण ज्ञान प्राप्त भएको बताउँदै कार्यक्रमले थप सक्रिय भएर काम गर्न ऊर्जा र प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए ।

सकारात्मक, रचनात्मक तथा प्रेरणादायी वातावरणमा सम्पन्न तालिमले आगामी दिनमा युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्न थप प्रशिक्षण तथा अवसरको आवश्यकता पनि औँल्याएको थियो ।

समावेशी नेतृत्व विकासका यस्ता पहलले युवालाई समुदायमा अर्थपूर्ण योगदान दिन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका स्याङ्जा, कास्की, तनहुँ, पर्वत, लमजुङ, गोरखा, मुस्ताङ, म्याग्दी र बागलुङ जिल्लाबाट ४० जना युवा सहभागी भएका थिए ।

सहभागीहरूमा महिला तथा पुरुष, सीमान्तकृत समुदाय, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति, दृष्टिविहीन, एकल महिला तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन तथा व्यवस्थापन सङ्कल्प गण्डकी प्रदेशकी सचिव इश्वरी बीकले गर्नुभएको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार