पोखरा । ‘रगतको विकल्प रगत नै हो, त्यसैले नियमित रक्तदान गरेर आफू स्वस्थ रहनुका साथै अरूको जीवन बचाउन पनि योगदान गर्न सकिन्छ ।’
रक्तदानको महत्त्वलाई आत्मसात् गर्दै पोखरामा आयोजित रक्तदान कार्यक्रममा १ सय ३५ युनिट रगत सङ्कलन भएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग तथा एभरेस्ट मिडिया हाउस प्रालिको आयोजनामा शनिबार सम्पन्न रक्तदान कार्यक्रममा १ सय ७ जना पुरुष र २८ जना महिलाले रक्तदान गरेका हुन् ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमको छैटौँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिसटाउनसँगको सहकार्यमा २०८३ मङ्सिर १२ गते रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
‘नियमित रक्तदान गरौँ, जीवन बचाउने अभियानमा सहभागी बनौँ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा १५ जनाले पहिलो पटक रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीको कालिका गण, सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामपाटन पोखरा, नागरिक समाज पोखरा, महानगर प्रहरी बल, जय देउराली कृषि फार्म, संयुक्त मार्ग टोल विकास संस्था, पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता महादेव गुरुङ र उहाँको महादेव टिमलगायत विभिन्न संस्था तथा समूहको सहभागिता रहेको एभरेस्ट एफएमका समाचार प्रमुख सन्देश श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्रकुमार केसी र आकस्मिक रक्तसञ्चार युनिट पोखराका प्रमुख हरिश्चन्द्र शर्माले पहिलो रक्तदाता द्वय पत्रकार विनोद लामिछाने र समाजसेवी टेकनाथ आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले जीवन बचाउने अभियानमा सहभागी हुने सम्पूर्ण रक्तदाता तथा सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यले एफएमले रक्तदान कार्यक्रम गर्दै आएको बताउनुभयो ।
पोखरामा रगतको अभाव हुने अवस्थालाई कम गर्न सहयोग पुग्ने विश्वासका साथ मिडिया हाउसले वार्षिक कार्यक्रम तालिका बनाएर रक्तदान आयोजना गर्दै आएको उहाँले बताउनुभयो ।
मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि अन्तिम किस्ता प्रदान
एभरेस्ट एफएमले पोखरा-२५ हेम्जास्थित मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सम्झौताअनुसारको पाँचौँ तथा अन्तिम किस्ता प्रदान गरेको छ ।
एफएमले वार्षिक रूपमा चार वर्षसम्म १ लाख रुपियाँका दरले चार किस्ता प्रदान गरिसकेको थियो । २०८३ मङ्सिर १२ गते अन्तिम किस्ताका रूपमा थप १ लाख रुपियाँ प्रदान गरेसँगै कक्ष निर्माणका लागि प्रतिबद्धता जनाएको रकम पूरा भएको हो ।
एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सहयोग गर्ने सम्झौता गरेको थियो ।
सम्झौताअनुसार पाँचौँ तथा अन्तिम किस्ता प्रदान गरिएको एफएमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
एफएम प्राङ्गणमा आयोजित कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङ र निर्देशक धना रायमाझीले मानव सेवा आश्रम कास्कीका संयोजक सदीस पुनलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
रकम ग्रहणपछि बोल्दै मानव सेवा आश्रम कास्कीका संयोजक पुनले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘एभरेस्ट एफएम कक्ष’ निर्माणमा सहयोग गरेर एभरेस्ट एफएमले सञ्चारमाध्यमका क्षेत्रमा उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले प्रतिबद्धताअनुसार सम्पूर्ण रकम प्रदान गरेकोमा एफएमलाई धन्यवाद व्यक्त गर्नुभयो ।
‘तपाईंहरूले गरेको प्रतिबद्धता पूरा गर्नुभयो, त्यसका लागि धन्यवाद । हामीले एभरेस्ट एफएम कक्ष निर्माण गरिसकेका छौँ । चाँडै नै सो कक्षमा आश्रितहरूलाई राखेर हामी पनि आफ्नो प्रतिबद्धता पूरा गर्छौँ ।’-उहाँले भन्नुभयो ।
एफएम स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा ‘एभरेस्ट एफएम कक्ष’ निर्माणका लागि सहयोग गर्ने घोषणा गरेको मिडिया हाउसले पाँच वर्षमा सवा ५ लाख रुपियाँ प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो ।
एभरेस्ट एफएमको बेस्ट स्टाफ अफ द इयर दिलिप भण्डारी
एभरेस्ट एफएमको ‘बेस्ट स्टाफ अफ द इयर’ सम्मान प्राविधिक दिलिप भण्डारीले प्राप्त गर्नुभएको छ । एफएममा वर्षभरि गरेको काम, योगदान तथा कार्यसम्पादनका आधारमा भण्डारीलाई वर्षको उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान गरिएको हो ।
कार्यक्रममा एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङ, निर्देशक धना रायमाझी, सम्पादक दीपेन्द्र श्रेष्ठ, वित्त निर्देशक भोला श्रेष्ठ, कार्यकारी सम्पादक सन्देश श्रेष्ठ र प्राविधिक प्रमुख रविभुषण पराजुलीले भण्डारीलाई ११ हजार १ सय ११ रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभएको थियो ।