पोखरा । सहकारीका सदस्यलाई संस्थाको उद्देश्य, सिद्धान्त, वित्तीय अनुशासन तथा सहकारीप्रतिको जिम्मेवारीबारे जानकारी गराउने उद्देश्यले पोखरामा सदस्य शिक्षा तथा वित्तीय सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
पोखरा महानगरपालिका-९, पालिखेचोकस्थित कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालित सदस्य शिक्षा तथा वित्तीय सचेतना कार्यक्रम २०८३ मङ्सिर १२ गते सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सहकारीका पूर्वअध्यक्ष तथा सल्लाहकार अर्जुनप्रसाद पोखरेलले सहकारी संस्थाको सफलताका लागि सदस्यहरूको सक्रिय सहभागिता, आपसी विश्वास र पारदर्शिता महत्त्वपूर्ण हुने बताउनुभयो ।
उहाँले सहकारी सदस्यहरूको आर्थिक तथा सामाजिक उन्नतिमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सदस्यहरूले सहकारीको उद्देश्य, नीति, नियम तथा सिद्धान्तलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी समितिका विज्ञ सदस्य तथा जिल्ला सहकारी सङ्घ कास्कीका महासचिव दीपकप्रकाश आचार्यले प्रमुख प्रशिक्षकका रूपमा सहजीकरण गर्नुभएको थियो ।
उहाँले सहकारी सदस्य शिक्षा, वित्तीय सचेतना, बचत तथा ऋण व्यवस्थापन र सहकारीका सात सिद्धान्तका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।
प्रशिक्षणका क्रममा सहकारीको मूल मर्म, सदस्यहरूको अधिकार तथा कर्तव्य, वित्तीय अनुशासन र सहकारीको दिगोपनाका लागि सदस्यहरूको भूमिकाबारे प्रकाश पारिएको थियो ।
सहकारीका अध्यक्ष मनोहरि सापकोटाले धन्यवाद ज्ञापन गर्दै सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र दिगो रूपमा सञ्चालन गर्न सञ्चालक समिति, कर्मचारी तथा सदस्यहरूबिच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले सदस्यहरूलाई वित्तीय अनुशासन कायम गर्दै सहकारीप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष रमेशराज बरालले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव लालप्रसाद पाठकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सहकारीका सात सिद्धान्त शिक्षा उपसमिति सदस्य चन्द्र दिव्यश्वरी भण्डारीले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीका पदाधिकारी, सञ्चालक समिति सदस्य, उपसमिति सदस्य तथा शेयर सदस्यहरूको सहभागिता रहेको थियो ।