मानव आवाज

२०८३ मङ्सिर १३ गते
00: 00: 00
२०८३ मङ्सिर १३ गते

‘बालविवाहमुक्त नेपाल : १०० दिने अभियान’ शुभारम्भ !

पोखरा । गण्डकी प्रदेशलाई बालविवाहमुक्त बनाउने उद्देश्यसहित ‘बालविवाहमुक्त नेपाल : १०० दिने अभियान’ शुभारम्भ गरिएको छ ।

अभियानको शुभारम्भसँगै बालविवाह, कम उमेरमा हुने तथा जबर्जस्ती गरिने विवाहको अन्त्यका लागि सरकारी निकाय, नागरिक सङ्घसंस्था, विद्यालय, समुदाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालाले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

बालविवाह, कम उमेरमा हुने तथा जबर्जस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस २०२६ तथा ‘बालविवाहमुक्त नेपाल : १०० दिने अभियान’को शुभारम्भका अवसरमा आयोजित कार्यक्रममा कम उमेरमा हुने यौन व्यवहार, त्यसका असर तथा यससम्बन्धी सचेतना र खुला संवादको आवश्यकता औँल्याइएको थियो ।

‘बाल अधिकारको संरक्षण र संवर्द्धन गरौँ, बालबालिकामा लगानी गरौँ–बालबालिका राष्ट्रिय गौरव हुन्’ भन्ने मूल नाराका साथ २०८३ मङ्सिर ११ गते पोखरा महानगरपालिका-७ स्थित चिल्ड्रेन नेपालको कार्यालय सभाकक्षमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नितु गतौलाले प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गरी अभियानको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।

गतौलाले बालविवाह मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यसको अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सचेतना र सबै सरोकारवाला निकायबिच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले १२, १४ र १५ वर्षजस्ता कम उमेरमै यौन गतिविधि भइरहेको अवस्थालाई उल्लेख गर्दै बालविवाहको विषयसँगै कम उमेरमा हुने यौन व्यवहारबारे पनि गम्भीर रूपमा चर्चा गर्नुपर्ने धारणा राख्नुभयो ।

विवाहपछि मात्रै यौन गतिविधि हुनुपर्छ भन्ने सामाजिक मान्यता र २० वर्षपछि विवाह गर्ने कानुनी व्यवस्थाको सन्दर्भमा विवाह नगरी कम उमेरमै यौन गतिविधिमा संलग्न हुने अवस्थाबारे पनि संवाद आवश्यक रहेको उहाँले बताउनुभयो ।

कम उमेरमा हुने यौन गतिविधिले विभिन्न समस्या तथा अवरोध सिर्जना गर्न सक्ने भएकाले यस विषयमा सचेतना, संवाद र आवश्यक जानकारी प्रदान गर्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा हस्ताक्षर गरिएको प्रतिबद्धता ब्यानरमार्फत बालविवाह, कम उमेरमा हुने तथा जबर्जस्ती गरिने विवाहको अन्त्य गर्दै बालबालिका, बालिका तथा किशोरीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा, पोषण र सशक्तीकरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

तीनै तहका सरकार, निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक संघसंस्था, विद्यालय, घरपरिवार, समुदाय तथा स्वयम् बालबालिकासहित सम्पूर्ण सरोकारवालाको सहकार्यमा गण्डकी प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने अभियानमा आआफ्नो स्थानबाट योगदान पुर्‍याउने प्रतिबद्धता जनाइएको छ ।

कार्यक्रममा सहभागी अतिथि तथा सरोकारवालाहरूले पनि प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्दै अभियानप्रति ऐक्यबद्धता जनाएका थिए ।

कार्यक्रममा चिल्ड्रेन नेपालका कार्यक्रम अधिकृत रमेश सुवेदीले ‘बालविवाह र यसको वर्तमान अवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले गण्डकी प्रदेश तथा समग्र नेपालमा बालविवाहको अवस्था, तथ्याङ्क, कारण र चुनौतीहरूबारे विस्तृत प्रस्तुति दिनुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय बाल पैरवी परिषद्का केन्द्रीय सदस्य सफलता परियार, पोखरा महानगरपालिकाकी बालकल्याण अधिकारी बेलकुमारी गुरुङ तथा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका केन्द्रीय सदस्य केशव पौडेलले अभियानको सफलताको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक तथा गर्ल्स नट ब्राइड्स नेपालका केन्द्रीय सदस्य डिल्लीप्रसाद शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका कार्यक्रम संयोजक कवि पौडेलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सञ्चालन चिल्ड्रेन नेपालकी कार्यक्रम संयोजक सुजता गैरेले गर्नुभएको थियो ।

चिल्ड्रेन नेपाल, जागृति बाल तथा युवा सरोकार नेपाल, जस्ट राइट्स फर चिल्ड्रेन, संयुक्त राष्ट्रसङ्घ नेपाल, गर्ल्स नट ब्राइड्स नेपाल, एनसीई नेपाल, भ्वाइस अफ चिल्ड्रेन, एनसीएफएलजी फोरम तथा बाल अधिकारका लागि नागरिक सञ्जाल पोखराको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

अभियान सञ्चालनमा गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले सहकार्य गरेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार