मानव आवाज

२०८३ मङ्सिर ११ गते
00: 00: 00
२०८३ मङ्सिर ११ गते

वर्तमान सरकारको कार्यक्षमता र कार्यसम्पादनले मुलुकलाई अपेक्षित गति दिन सकेन : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले जनभावना अनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।  

योजना, स्पष्ट दृष्टिकोण र कार्यक्रमबिना लोकप्रियताका आधारमा राजनीति गर्ने पपुलिस्टहरूको राजनीतिक भविष्य लामो नहुने उहाँको भनाइ छ ।

प्रेस चौतारी नेपाल कास्की शाखाले २०८३ मङ्सिर ११ गते पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले राजनीति लोकप्रिय नारामा सीमित हुन नहुने भन्दै देश र जनताको समस्या समाधान गर्ने स्पष्ट योजना, नीति र कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

उहाँले देशको विकास, समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन ल्याउने ठोस दृष्टिकोणसहित राजनीतिक दलहरू अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

पपुलिस्ट राजनीतिले क्षणिक लोकप्रियता हासिल गरे पनि दीर्घकालीन राजनीतिक आधार निर्माण गर्न नसक्ने उहाँको तर्क थियो ।

राजनीति जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्ने क्षमता, नीति, योजना र कार्यान्वयनसँग जोडिनुपर्ने उल्लेख गर्दै उहाँले राजनीतिक दलहरू जनताका वास्तविक आवश्यकता र समस्याप्रति जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री बालेन्द्र शाहले विगतमा काठमाडौँ महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर चर्चामा आउनेदेखि विभिन्न विषयमा उपदेश दिने काम गरे पनि कूटनीतिक तहमा नेपालको हित स्थापित गर्न नसकेको पोखरेलको टिप्पणी थियो ।

‘नेपालको हितको विषयमा एजेण्डा नै बनेन भनेर भारतीय विदेश सचिवले नै भनेको विषय सार्वजनिक भएको छ ।’-उहाँले भन्नु भयो-‘नेपाल सरकारले यस विषयमा आफ्ना कुरा राख्नै सकेको छैन ।’

राष्ट्रिय स्वाभिमान र राष्ट्रिय हितका विषयमा अभिव्यक्ति दिनु मात्रै पर्याप्त नहुने भन्दै त्यसलाई कूटनीतिक र राजनीतिक तहमा स्थापित गर्न सक्नुपर्ने पोखरेलले बताउनुभयो ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपालको राष्ट्रिय हितका मुद्दालाई प्रभावकारी रूपमा उठाउन नसकेको उहाँको आरोप थियो ।

महासचिव पोखरेलले प्रधानमन्त्री शाहलाई विगतमा आफैँले आलोचना गरेका सरकारको कार्यसम्पादन र वर्तमान सरकारको कामको तुलना गर्न पनि आग्रह गर्नुभयो ।

विगतका सरकारप्रति असन्तुष्टि रहे पनि अहिलेको सरकार त्यसको तुलनामा अझ कमजोर देखिएको उहाँको निष्कर्ष थियो ।

‘विगतमा सन्तोष गर्ने अवस्था थिएन, त्यसको आलोचना भयो । अहिले त्योभन्दा पनि कमजोर अवस्था देखिएको छ । आफैँले आलोचना गरेका विगतका सरकार र आफैँ नेतृत्वको सरकारको तुलना गरे हुन्छ ।’- उहाँले भन्नुभयो ।

वर्तमान सरकार भर्चुअल माध्यममा चर्चामा रहे पनि भौतिक रूपमा काम गर्न असक्षम देखिएको पोखरेलको भनाइ थियो । विशेषगरी पुँजीगत खर्च गर्ने क्षमतामा सरकार कमजोर देखिएको उनले टिप्पणी गर्नुभयो ।

‘वर्तमान सरकार भर्चुअल माध्यममा निकै चर्चामा छ । तर, भौतिक रूपमा काम गर्न असक्षम देखिएको छ ।’-उहाँले भन्नुभयो-‘पुँजीगत खर्च गर्ने क्षमतासमेत कमजोर रहेको सरकार विगतका सरकारभन्दा पनि कमजोर देखिएको छ ।’

सरकारको कार्यसम्पादन मूल्याङ्कन गर्दा प्रचार र वास्तविक कामबिचको अन्तर स्पष्ट देखिने भन्दै उहाँले सरकारको वास्तविक मूल्याङ्कन भाषण, प्रचार र सामाजिक सञ्जालमा हुने चर्चाका आधारमा नभई विकास निर्माण, पुँजीगत खर्च तथा जनताले अनुभूति गर्ने परिणामका आधारमा हुनुपर्ने बताउनुभयो ।

प्रेस चौतारी नेपाल कास्की शाखाका अध्यक्ष मोतीसागर अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले कास्कीका जिल्ला अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीले महासचिव पोखरेलले आजै पार्टीको आयोजनामा हुने अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार