पोखरा । यस वर्षको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट राष्ट्रिय समाचार समिति (रासस), पोखरामा कार्यरत पत्रकार राम थापालाई सम्मान गरिने युआरएलले जनाएको छ ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) फाउन्डेसनले स्थापना गरेको उक्त पुरस्कारको राशि ३३ हजार ३ सय ३३ रुपियाँ र ताम्रपत्र रहेको छ ।
बागलुङको गलकोट नगरपालिका-७, मल्म स्थायी घर भई हाल पोखरामा बस्दै आउनुभएका थापा दुई दशकदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रका गतिविधि, समस्या र सरोकारका विषयलाई निरन्तर उजागर गर्दै आउनुभएका थापालाई योगदानको कदर गर्दै पुरस्कृत गर्ने निर्णय गरिएको प्रतिभा छनोट समितिका संयोजक केशवशरण लामिछानेले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिका-८, न्युरोडमा १३ वर्षअघि स्थापना भएको युआरएल गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबोरेटरी हो । युआरएलले प्रवर्धन गरेको युआरएल फाउन्डेसनमार्फत स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ ।
फाउन्डेसनबाट यसअघि पत्रकारहरू जमुना वर्षा शर्मा, दीपेन्द्र श्रेष्ठ, आर्जू विष्ट ‘सल्यानी’, हरिप्रसाद बाँस्तोला, प्रदीप पौडेल, सुरेन्द्र पौडेल, यदुनाथ बञ्जारा र ऋषि खतिवडा सम्मानित भइसक्नुभएको छ ।
युआरएलका अध्यक्ष ठाकुर पन्तका अनुसार २०८३ मङ्सिर २३ गते आयोजना हुने संस्थाको वार्षिकोत्सव समारोहमा थापालाई पुरस्कार प्रदान गरिनेछ । फाउन्डेसनले प्रदान गर्दै आएको लाइफटाइम एचिभमेन्ट अवार्ड भने यस वर्ष स्थगित गरिएको छ ।