मानव आवाज

२०८३ मङ्सिर ९ गते
00: 00: 00
२०८३ मङ्सिर ९ गते

पोखरामा प्रतिजैविक प्रतिरोधसम्बन्धी सञ्चारकर्मी र सरोकारवालाबिच अन्तरसंवाद

पोखरा । ‘एक स्वास्थ्य, एक अभियान : प्रतिजैविक प्रतिरोधको आजैबाट रोकथाम’ भन्ने नाराका साथ पोखरामा प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स-एएमआर) सम्बन्धी सञ्चारकर्मी र सरोकारवालाबिच अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको आयोजना तथा अमेरिकी सरकारको सहयोग प्राप्त ‘स्ट्राइड्स’ र विश्व स्वास्थ्य सङ्गठन नेपालको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८-२४) को अवसर पारेर २०८३ मङ्सिर ८ गते कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री नन्दप्रसाद न्यौपानेले नागरिकमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै स्वस्थ नागरिक र स्वस्थ प्रदेश निर्माणमा सरकार जुटिरहेको बताउनुभयो ।

उहाँले एन्टिबायोटिकको अनावश्यक प्रयोग रोक्न मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरण क्षेत्रबिच एकीकृत सहकार्य तथा व्यापक जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले प्रतिजैविक प्रतिरोधका बहुआयामिक पक्षबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका फिजिसियन डा. शरदचन्द्र बरालले एन्टिबायोटिकको जथाभावी प्रयोग स्वास्थ्य क्षेत्रका लागि चुनौती बन्दै गएको बताउनुभयो ।

चिकित्सकको प्रेस्क्रिप्सनबिना एन्टिबायोटिक सेवन गर्ने प्रवृत्तिले अस्पतालमा जटिल सङ्क्रमणको उपचारसमेत चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ थियो ।

प्रादेशिक रोग नियन्त्रण केन्द्रका महानिर्देशक मनमोहन मिश्रले प्रदेशस्तरमा सङ्क्रामक रोगको निगरानी तथा नियन्त्रण र प्रतिजैविक प्रतिरोधको जोखिम न्यूनीकरणका लागि मन्त्रालयले गरिरहेका नीतिगत प्रयास एवम् आगामी कार्ययोजनाबारे जानकारी गराउनुभयो ।

त्यस्तै, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा. किरण पाण्डेले पशुपालन तथा कृषि क्षेत्रमा एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले पशु स्वास्थ्यसँगै खाद्य शृङ्खलामार्फत मानव स्वास्थ्यमा समेत गम्भीर असर पारिरहेको बताउनुभयो ।

प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका फार्मेसी अधिकृत साजन बरालले औषधिको बिक्री वितरण नियमन, गुणस्तरीय औषधिको आपूर्ति तथा फार्मेसीबाट हुने जथाभावी एन्टिबायोटिक वितरण रोक्न कडाइ गर्नुपर्नेमा जोड दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठन नेपालका प्रतिनिधि डा. समिर पराजुलीले प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्य चुनौतीका रूपमा देखिएको उल्लेख गर्दै ‘एक स्वास्थ्य’ अवधारणाको प्रभावकारी कार्यान्वयन र सही सूचना प्रवाहमा सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।

प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक खिमबहादुर खड्काले अनुभव तथा सिकाइ आदानप्रदान गर्दै शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्वास्थ्य मन्त्रालयका निमित्त प्रदेश सचिव सुरज गुरौको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले कार्यक्रमको उद्देश्य र स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन मन्त्रालयका अधिकृत तथा फोकल पर्सन बुद्धिसागर अधिकारीले गर्नुभएको थियो । प्राविधिक सत्रमा सहभागी सञ्चारकर्मी तथा सरोकारवालाहरूले राखेका जिज्ञासामाथि विज्ञहरूले सहजीकरण गरेका थिए ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार