मानव आवाज

२०८३ मङ्सिर ९ गते
00: 00: 00
२०८३ मङ्सिर ९ गते

महेन्द्रपुलमा खुल्यो शाओमीको एक्सक्लुसिभ स्टोर

पोखरा ।  विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखराको महेन्द्रपुलमा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ ।

नेपालमा बजार विस्तार तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टेलिडाइरेक्ट प्रालिले २०८३ मङ्सिर ८ गतेदेखि स्टोर सञ्चालनमा ल्याएको हो । स्टोरको उद्घाटन प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले गर्नुभएको हो ।

महेन्द्रपुल चोकमै रहेको स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मोनिटरलगायत स्मार्ट होमका विभिन्न सामग्री बिक्री तथा अवलोकनका लागि राखिएका छन् ।

स्टोरका सञ्चालक मनोहर श्रेष्ठका अनुसार ग्राहकले शाओमीका विभिन्न उत्पादन एउटै स्थानबाट हेर्न र खरिद गर्न सक्नेछन् ।

स्मार्टफोन बिक्रीमा मात्र सीमित नरही शाओमीका सम्पूर्ण प्रविधि तथा उत्पादन उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

आधुनिक प्रविधिलाई सर्वसाधारणको पहुँचमा पुर्‍याउँदै दैनिक जीवन सहज बनाउने शाओमीको अवधारणालाई स्टोरले थप विस्तार गर्ने टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक अग्रवालले बताउनुभयो ।

कम्पनीले खुद्रा बजार विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै अग्रवालले पोखरामा सञ्चालनमा ल्याइएको जस्तै स्टोर अन्य प्रदेशका सहरमा पनि चाँडै विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

स्मार्ट जीवनशैलीका लागि आवश्यक सबै उत्पादन उपभोक्ताको नजिक पुर्‍याउने कम्पनीको लक्ष्य रहेको उहाँको भनाइ छ ।

स्टोर शुभारम्भको अवसरमा ग्राहकलाई विभिन्न छुट तथा अफरसमेत उपलब्ध गराइएको छ । होम अप्लायन्सेसका सामग्रीमा १० प्रतिशत र टिभी खरिदमा १५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार स्मार्टफोन खरिदमा पनि विभिन्न आकर्षक अफर उपलब्ध छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार